Logo

अर्थ

राजनीतिक घोषणापत्रमा पूर्वाधार विकासलाई एजेन्डा बनाउन सुझाव



काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् ।

नाफिजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बाेल्दै उनले अब दलहरूले घोषणापत्र बनाउँदा केवल घोषणापत्रका लागि मात्रै नभई, साँच्चिकै व्यवहारमा लागू हुने घोषणापत्र तयार गर्नुपर्ने बताए ।

उनले भने, “सबै दलहरूले ध्यान दिनुपर्ने कुरा के हो भने नेपाली जनता अबनिर्वाचनमा मात्रै विश्वास गर्दैनन् । चुनाव त ०८२ मा हुन्छ । तर, त्यसको परिणामभन्दा महत्त्वपूर्ण कुरा मुलुकको विकास हो । र, त्यो विकास राजनीतिक एजेन्डामा मात्रै सीमित हुन सक्दैन ।”

उनले निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै स्टन्ट गरेर पूर्वाधार क्षेत्रलाई धराशायी बनाउन नहुने अभिव्यक्तिसमेत दिए ।

उनले हिजो राजनीतिक एजेन्डालाई केन्द्रमा राखेर मात्रै छलफल हुने गरे पनि आर्थिक एजेन्डालाई दलहरूले आफ्नो मुख्य प्राथमिकतामा राख्नुपर्ने बताए । उनले भने, “नेपाली जनताले पनि यही अपेक्षा गरेका छन् । तर, अहिले दलहरूभित्र आर्थिक एजेन्डामा गम्भीर बहस र स्पष्ट दृष्टिकोणको अभाव देखिन्छ । आज मुलुकमा देखिएको भ्रष्टाचार कसरी न्यूनीकरण गर्ने, आर्थिक सुशासन कसरी कायम गर्ने— यी विषय घोषणापत्रको मुख्य एजेन्डा बन्नुपर्छ ।”

उनले संघीयतामा गएपछि केही कानुनी संशोधन भए पनि ती पर्याप्त नरहेको जिकिर गरे । पूर्वाधार उद्योगलाई मुलुकको अर्थतन्त्र चलायमान बनाउने मुख्य क्षेत्रका रूपमा राजनीतिक दलहरूले स्वीकार गर्नुपर्ने बताउँदै यो सोच परिवर्तन नभएमा ०८२ को निर्वाचनले पनि मुलुकलाई निकास दिन नसक्ने उनको भनाइ छ ।

उनले दलहरूलाई आग्रह गर्दै भने, “हामी अब आश्वासनमा विश्वास गर्दैनौँ । तपाईंहरूले के गर्न सक्नुहुन्छ, त्यो मात्रै घोषणापत्रमा राख्नुहोस् ।”

उनले अख्तियार, महालेखाजस्ता निकायहरूको त्रासका कारण कर्मचारीहरू निर्णय गर्न डराउने अवस्था बनेको बताए ।

प्रकाशित मिति : १८ माघ २०८२, आईतवार १३:००   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।