Logo

समाचार

दुई वर्षपछि सुबीले संसार देख्दा



गोरखा । गोरखाको अजिरकोट–१ घ्याच्चोककी ७४ वर्षीया सुबी गुरुङले दुई वर्षपछि पुनः संसार देख्न सफल भएकी छन्। लामो समयदेखि मोतियाबिन्दुका कारण आँखाको ज्योति गुमाएकी उनलाई छोरा कान्छा गुरुङले बोकेर अस्पतालसम्म पुर्‍याएका थिए।

शल्यक्रियापछि आँखाको पट्टी खोलिएसँगै सुबीको अनुहारमा खुसीको सीमा रहेन। स्वास्थ्यकर्मीले आँखा सफा गरेर चस्मा लगाइदिएपछि उनले मान्छे चिन्न थालेकी छन्। आफूलाई संसार देखाइदिने चिकित्सकलाई धन्यवाद दिँदै उनी अब लौरो र सहाराबिना नै हिँड्न सक्ने भएकी छन्।

सुबी मात्र होइन, भच्चेकमा सञ्चालित निःशुल्क आँखा शिविरमा उनीजस्तै २७ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको छ। अजिरकोट–३ डिहिटारका ९१ वर्षीय गुणनिधि अधिकारी पनि शल्यक्रियापछि आँखा देख्ने भएपछि दंग छन्।

बुबाले आँखा देखेपछि छोरा काजिराम अधिकारीले पनि ठूलो राहत महसुस गरेका छन्। उमेर ढल्केका बेला आँखा नदेख्दा निकै कष्ट भोगेका अधिकारी अब आफैँ हिँडडुल गर्न सक्ने भएका छन्।

यस्तै, वर्षौँदेखि दृष्टि गुमाएका सिम्जुङका ६३ वर्षीय पूर्णबहादुर तामाङ र मुच्चोकका ६५ वर्षीय नक्कले तामाङको जीवनमा पनि नयाँ उज्यालो फर्किएको छ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार ०६:४२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।