काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले नवौँ वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश सेयरधनीहरूको बैंक खातामा पठाउन थालेको छ।
गत पुस २९ गते सम्पन्न साधारण सभाले हाल कायम चुक्ता पुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँको १२ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
कम्पनीका अनुसार लाभांश प्रयोजनका लागि पुस २१ गते बुक क्लोज गरिएको हुँदा पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र उक्त नगद लाभांश प्राप्त गर्नेछन्।
लाभांश रकम पुस २९ गतेदेखि ‘कनेक्ट आईपीएस’ प्रणालीमार्फत सेयरधनीको डिम्याट खातामा उल्लेखित बैंक खातामा जम्मा गर्न थालिएको कम्पनीले जनाएको छ।
धितो राखी कर्जा लिएका सेयरधनीहरूको हकमा भने सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट ‘नो अब्जेक्सन लेटर’ (एनओसी) वा कर्जा राफसाफ भएको प्रमाण प्राप्त भएपछि मात्र लाभांश वितरण गरिनेछ।
कम्पनीले डिम्याट खाता नखोलेका वा खातामा बैंक विवरण अद्यावधिक नगरेका सेयरधनीहरूलाई शीघ्र विवरण अद्यावधिक गर्न आग्रह गरेको छ। साथै, विगतका वर्षहरूमा वितरण गरिएको नगद लाभांश अझै नलिएका सेयरधनीहरूलाई सो रकम बुझ्न समेत अनुरोध गरिएको छ।
रिलायबल नेपाल लाइफले विगतका आर्थिक वर्षहरूमा पनि नियमित रूपमा लाभांश वितरण गर्दै आएको छ। कम्पनीले आ.व. २०७९/८० मा १६ प्रतिशत बोनस सेयर, आ.व. २०८०/८१ मा १२ प्रतिशत बोनस सेयर तथा आ.व. २०८१/८२ मा १२ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ।




















प्रतिक्रिया