Logo

प्रमुख समाचार

वैदेशिक हुलाक भन्सारमा अख्तियारको छापा, अधिकृतसहित ३ कर्मचारी घुससहित पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत र नायब सुब्बासहित तीनजना कर्मचारीलाई घुस रकम र स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरूमा वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र हुलाक भन्सार पार्सल (निकासी) शाखामा कार्यरत नासु छवि प्रसाद रिजाल छन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट आइतबार पक्राउ गरेको हो ।

आयोगका अनुसार कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनीको कार्यकक्षमा रहेको टेबलको घर्राबाट घुसबापत लिइसकेको १० हजार रूपैयाँ र स्रोत नखुलेको ४० हजार ३५० रूपैयाँ बरामद भएको छ । साथै, उनको साथबाट थप ९६ हजार ७० रूपैयाँ गरी जम्मा १ लाख ४६ हजार ४२० रुपैयाँ बरामद गरिएको छ।

त्यस्तै, नायब सुब्बा छवि प्रसाद रिसालको साथबाट घुसवापत लिइसकेको २० हजार र स्रोत नखुलेको १८ हजार ८४८ गरी जम्मा ३८ हजार ८४८ रूपैयाँ बरामद भएको छ।

आयोगले उनीहरूको साथबाट स्रोत नखुलेको थप रकमसहित कुल २ लाख ६८ हजार २८८ रूपैयाँ र विभिन्न व्यक्तिहरूबाट संकलन गरिएका २३ थान मोबाइल सेटसमेत बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार १३:११   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।