मुगु । मुगुको सोरुगाउँपालिका–१० धैन गाउँका जलबहादुर शाही भेडा चराउन घर नजिकैको बनमा जाने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका छन्।
घाइते शाहीलाई प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएको थियो। तर आवश्यक उपचार सम्भव नभएपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला रिफर गरिएको थियो। जुम्लामा पनि उपचार सुविधा नहुँदा थप उपचारका लागि नेपालगन्ज लैजाने तयारी गरिएको छ।
तर जुम्ला विमानस्थलमा जहाजको प्रतीक्षामा रहेका शाहीलाई गम्भीर बिरामी बोक्न जहाजले अस्वीकार गरेपछि उपचारमा थप ढिलाइ भइरहेको छ। परिवारजनका अनुसार शाहीको अवस्था अत्यन्तै गम्भीर रहेकाले समयमै उपचार नपाए ज्यान जोखिममा पर्न सक्ने अवस्था रहेको छ।
स्थानीयवासी तथा सरोकारवालाहरूले दुर्गम क्षेत्रमा गम्भीर बिरामी तथा घाइतेको समयमै उपचार हुन नसक्ने समस्या अझै समाधान नभएको भन्दै सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।




















प्रतिक्रिया