Logo

समाचार

काठमाडौं महानगरपालिकाको ‘भीआईपी लिफ्ट’ सर्वसाधारणका लागि खुला



काठमाडौं । काठमाडौं महानगरपालिकाको कमलादीस्थित केन्द्रीय कार्यालयमा रहेको ‘भीआईपी लिफ्ट’ अब सर्वसाधारणले पनि प्रयोग गर्न पाउने भएका छन् । लिफ्टमा राखिएको पासवर्ड हटाइएपछि सेवाग्राहीहरूका लागि प्रयोग खुला गरिएको हो ।

कार्यवाहक मेयर सुनीता डंगोलको निर्देशनमा लिफ्ट खुला गरिएको महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले जानकारी दिए । उनकाअनुसार गत माघ ६ गते नै लिफ्टको पासवर्ड हटाइएको हो । यसअघि मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतबाहेक अन्यलाई लिफ्ट प्रयोग गर्न अनुमति थिएन ।

यसअघि मेयर बालेन्द्र साहले माघ ४ गते पदबाट राजीनामा दिएर निर्वाचनमा उम्मेदवार बनेपछि कार्यवाहक मेयरको जिम्मेवारी सुनीता डंगोलले सम्हालेकी थिइन् ।

कमलादीस्थित महानगरको कार्यालय भवनमा हाल तीनवटा लिफ्ट सञ्चालनमा छन् । तीमध्ये ‘भीआईपी लिफ्ट’ भने २०८१ साल साउन महिनामा निर्माण सम्पन्न भएको थियो । सुरुमा उक्त लिफ्टमा सर्वसाधारणको पहुँच नदिइँदा आलोचना पनि हुँदै आएको थियो ।

महानगरपालिकाका अनुसार कार्यालय परिसरमा दुईवटा भवन छन्, जसलाई भौतिक रूपमा एउटै संरचनामा जोडिएको छ । भवनको एक भागमा मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वातावरण विभागलगायतका कार्यकक्ष रहेका छन् भने अर्को भागमा विभिन्न विभाग, शाखा र महाशाखाका कार्यालयहरू सञ्चालनमा छन् । मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष रहेको भवन छ तले रहेको छ ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलवार १४:२८   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।