काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रादेशिक अस्पताल सिरहाका तत्कालीन दुई जना कार्यालय प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट) सहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अस्पतालको टिकट काउन्टरबाट संकलन भएको राजस्व रकम हिनामिना गरेको आरोपमा तत्कालीन कार्यालय प्रमुख डा. नागेन्द्र प्रसाद यादव र डा. सरोज यादवसहित १० जनाविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।
आयोगका अनुसार आर्थिक वर्ष २०८०/८१ मा अस्पतालका ८ वटा विल काउन्टरबाट संकलन भएको सेवा शुल्क बापतको रकम बैंकमा दाखिला नगरी हिनामिना गरिएको पाइएको छ ।
अनुसन्धानका क्रममा सफ्टवेयर अभिलेखमा देखिएको आम्दानी र बैंकमा जम्मा गरिएको भौचर भिडान गर्दा ३८ लाख ७७ हजार ७ सय २४ रुपैयाँ ८३ पैसा फरक परेको थियो ।
उक्त सरकारी रकम बदनियतपूर्वक मासेको र कार्यालय प्रमुखले जिम्मेवारी पूरा नगरी अनियमिततामा सघाएको ठहर आयोगले गरेको छ ।
आरोप पत्रमा तत्कालीन प्रशासन प्रमुख अशोककुमार सिंह, तत्कालीन लेखा प्रमुख अशोककुमार यादव तथा बिल काउन्टरमा कार्यरत कर्मचारीहरू श्यामकुमार मण्डल, रोशनकुमार यादव, सरस्वतीकुमारी यादव, अजयकुमार मण्डल र पूजा कुमारी यादवलाई पनि प्रतिवादी बनाइएको छ।
उनीहरूले आपसी मिलेमतोमा सफ्टवेयर अभिलेखमा देखिने वास्तविक आम्दानी लुकाई कम रकम बैंकमा दाखिला गरेको अभियोग लगाइएको छ।
त्यस्तै, तत्कालीन लेखा प्रमुख रत्न प्रसाद मण्डलको मृत्यु भइसकेको भए पनि उनले हिनामिना गरेको सरकारी रकम असुल उपर गर्ने प्रयोजनका लागि कानुन बमोजिम उनकी श्रीमती मुस्कान कुमारी मण्डललाई समेत प्रतिवादी बनाइएको छ ।
सबै प्रतिवादीहरूमाथि बिगो बराबरको जरिवाना र भ्रष्टाचार निवारण ऐनअनुसार कैद सजायको मागदाबी गरिएको छ ।




















प्रतिक्रिया