काठमाडौँ । सरकारले भोलि (मङ्गलबार) चालु आर्थिक वर्ष (२०८२/८३) को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने भएको छ ।
अर्थ मन्त्रालयले मङ्गलबार दिउँसो १ बजे पत्रकार सम्मेलनमार्फत बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्न लागेको हो । मन्त्रालयले बजेट समीक्षाका लागि पछिल्लो दुई महिनादेखि बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाललाई संयोजक तोकेर काम गरिरहेको थियो ।
मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले मन्त्रालयले पत्रकार सम्मेलन गरेर बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्न लागेको बताए । प्रवक्ता पाण्डेयले बजेट समीक्षा माघ २० देखि २५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य भए पनि ढिला गरी भोलि सार्वजनिक गर्न लागिएको बताए ।
चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुससम्म) को यथार्थ विवरण प्राप्त भइसकेपछि मन्त्रालयले बजेट कार्यान्वयनको अवस्था, राजस्व सङ्कलन र खर्चको स्थितिको मूल्याङ्कन गर्दै अर्धवार्षिक समीक्षा तयार गरिएको मन्त्रालयले जनाएको छ ।
आन्दोलनका कारण अन्य वित्तीय भार थपिएको छ । बजेटमा नराखिएका दायित्व वर्तमान सरकारलाई थपिएको छ ।
त्यसैले पनि सरकारले ल्याएको बजेट कार्यान्वयनदेखि बजेट कटौती हुने निश्चित देखिएको हो । जेनजी आन्दोलनपछि २१ फागुनमा हुने निर्वाचनका लागि ३० अर्बसम्म बजेट सरकारले परिचालन गर्नुपर्ने अवस्था छ । जसका लागि विकास बजेट कटौती गर्नुपर्ने बाध्यता छ ।
अर्थ मन्त्रालयले फागुन २१ मा हुने निर्वाचन र जेनजी आन्दोलनका क्रममा ध्वंश भएका सरकारी संरचनाको पुनर्निर्माणका लागि खर्चको जोहो गर्न ५३ आयोजनाका १ खर्ब २० अर्ब रुपैयाँ बजेट रोक्का गरेर निर्वाचनका लागि खर्च गर्ने रणनीतिका साथ काम भइरहेको छ ।
तत्कालीन अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएका थिए । विगत पछिल्ला १० वर्षदेखि निरन्तर रूपमा बजेटको अर्धवार्षिक समीक्षामा बजेटको अनुमान संशोधन गरेर आकार घटाउने गरिएको छ ।
कुल विनियोजित बजेटमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात् २०.८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९.१ प्रतिशत बजेट छ ।




















प्रतिक्रिया