Logo

विविध

आज पर्वको दोस्रो दिन ब्रतालुले ‘खरना’ गर्दै



छठ पर्वको आज दोस्रो दिन ब्रतालुले ‘खरना’ विधिको तयारी गरेका छन् । कात्तिक शुक्ल चौथीका दिन बुधबार ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ गर्दै छन् ।

चार दिनसम्म मनाईने यस पर्वको दोस्रो दिन अर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि मात्रै फलार ग्रहण गर्ने चलन रहेको छ । माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् ।

आज दिनभरि उपवास गर्ने ब्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर आज यो विधि सम्पन्न गर्नेछन् । ब्रतालुले पर्वको पहिलो दिन ‘नहाय–खाय’ ९पवित्र स्नान गरेर शुद्ध खानेकुरा खाइने० विधि सम्पन्न गरिसकेका छन् । पर्वको तेस्रो दिन सूर्य उपाशनाको निराहार ब्रत बसेर ब्रतालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् ।

यसलाई मिथिला क्षेत्रमा ‘सझुका अरख’ भन्ने गरिएको छ । त्यसैगरी सप्तमीका दिन बिहान ब्रतालुले उदाउँदा सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्व समापन गर्ने चलन छ । यसलाई मिथिलामा ‘भोरका अरख’ भनिन्छ ।

प्रकाशित मिति : मंसिर ४, २०७७ बिहीबार  ९ : १७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।