Logo

प्रमुख समाचार

रास्वपाको दुई दिने प्रशिक्षण आजदेखि, बालेन नजाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना संघीय सांसदहरूका लागि आजदेखि संसदीय अभ्यास तथा नेतृत्व विकाससम्बन्धी दुई दिने प्रशिक्षण दिदैछ । पार्टी प्रवक्ता मनिष झाका अनुसार आज र भोली हुने सक्षम सांसद, सशक्त संसद् संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण स्टाफ कलेज जाउलाखेलमा आयोजना हुन लागेको हो ।

कार्यक्रमको उद्घाटन उपसभापति स्वर्णिम वाग्लेले गर्नेछन् भने समापन सत्रमा पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने तय भएको छ । पार्टी संरचनाभित्रका वरिष्ठ नेताको रूपमा रहेका बालेन शाहलाई भने यसपटकको प्रशिक्षण कार्यक्रममा कुनै औपचारिक जिम्मेवारी दिइएको छैन । उनी यसअघि पनि पार्टीले आयोजना गरेको यस्तै प्रकारका प्रशिक्षण गतिविधिमा सहभागी नभएको जनाइएको छ ।

प्रशिक्षणको पहिलो दिन आज सदन र सरकारको अन्तरसम्बन्ध एवं संसदीय प्रक्रियामा केन्द्रित रहनेछ। जसअन्तर्गत पार्टी, सरकार र सदनबीचको समन्वयकारी सम्बन्धका बारेमा महामन्त्री भूपदेव शाहले प्रशिक्षण दिने छन्। त्यसैगरी, संसदीय समितिहरूमा सांसदहरूले खेल्नुपर्ने सक्रिय भूमिकाका विषयमा संसदीय दलका उपनेता गणेश पराजुली र संसदीय अभ्यास एवं दलीय समन्वयमा सचेतकको भूमिकाबारे सांसद निशा डाँगीले आफ्ना अनुभव र विधिहरू प्रस्तुत गर्ने छिन्।

दोस्रो दिनको सत्रमा भोली विशेषगरी राजनीतिक आचरण, कूटनीति र आगामी निर्वाचनको तयारीमा केन्द्रित रहने छ। भोली सचेतक क्रान्तिशिखा धितालले राजनीतिक मनोविज्ञान, व्यवहार र उच्च नैतिक आचरणका बारेमा प्रशिक्षण दिने छिन् भने परराष्ट्र मन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र राजकीय मर्यादाका प्राविधिक पक्षहरूबारे जानकारी गराउने छन्। साथै, सह(महामन्त्री विपिनकुमार आचार्यले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको वैज्ञानिक रूपरेखा र पार्टीको आन्तरिक तयारीबारे कार्यपत्र प्रस्तुत गर्ने छन्।

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार ०९:२४   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।