Logo

जोखिममा अस्पतालका आकस्मिक कक्ष



काठमाडौँको मुटुमै रहेको वीर अस्पतालको आकस्मिक कक्ष चाडबाडका बेलामा समेत बिरामीले भरिभराउ रहन्छ । दशैँ, तिहार अनि छठ पर्वका बेला समेत आकस्मिक कक्षमा बिरामीको चाप घटेन । कोरोना भाइरस (कोभिड–१९)को चाप बढ्दै गएपछि जेठो अस्पताललाई कोभिड अस्पतालको समेत जिम्मेवारी थपिएपछि त्यहाँ बिरामी आउने क्रम दोब्बर भएको हो । आकस्मिक कक्षमा त झनै बिरामीको चाप बढ्दो छ ।

कोरोना भाइरसको सङ्क्रमण बढ्दो रहेकाले वीर अस्पतालको आकस्मिक कक्ष बिरामीको रोजाइ हुन थालेको छ । स्वास्थ्य मन्त्रालयले कोभिडमा गुणस्तरीय सेवा सञ्चालन गर्न अन्य सेवासँगै आकस्मिक सेवालाई निरन्तर र चुस्त राख्न बारम्बार निर्देशन दिइरहेको छ ।
कोभिडका कतिपय बिरामीलाई भर्ना गर्नुपर्ने हुन्छ भने कतिपयलाई आकस्मिक कक्षमै उपचार गर्नुपर्ने हुन्छ । सोहीअनुसार सकेजति सेवा प्रदान गरिएको अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरी बताउनुहुन्छ । सार्वजनिक, व्यक्तिगत र साप्ताहिक बिदा समेत नलिएर आकस्मिक सेवा आमनागरिकलाई उपलब्ध गराइएको छ । कुल ४३ शैया रहेको वीरको आकस्मिक कक्ष उहाँले भन्नुभएझैँ शुक्रबार अत्यधिक बिरामीले भरिएको थियो । अझै थप बिरामीको ओहोरदोहोर चलिरहेको थियो ।

वीर अस्पतालका चिफ कन्सल्ट्यान्ट तथा आकस्मिक सेवा विभागका प्रमुख डा. विष्णुबहादुर बस्नेतका अनुसार रातो, पहँेलो र हरियो ब्लक बनाएर आउने बिरामीको अवस्था हेरेर व्यवस्थापन गरिन्छ । मेडिकल कन्सल्ट्यान्ट, चिफ मेडिकल कन्सल्ट्यान्ट, मेडिकल अफिसर, ‘डिउटी’मा खटिने पारामेडिक्स र नर्सहरू दिनरात बिरामीको सेवामा खटिने गरेका छन् । सेवालाई व्यवस्थित बनाउन खटिनेहरूको नामावलीसहितको विवरण हरेक दिनजसो नै अद्यावधिक गरिन्छ ।

सेवा सहज र राम्रो बनाउन बिहान, दिउँसो र राति तीन सिफ्टमा कामको खटनपटनको व्यवस्था गरिएको छ । जसमा अनिवार्य रूपमा मेडिकल अफिसर र पारामेडिक्स र नर्स रहन्छन् । याे खबर गाेरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति : मंसिर ७, २०७७ आईतबार  ७ : १० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।