Logo

कर्पोरेट फोकस

ढकाल–भट्ट द्वन्दले निजी क्षेत्र तरंगित : सत्ता बाहिरका व्यवसायी हिरासतमा, पहुँचवाला सुरक्षित



काठमाडौं । लामो समयदेखि सुस्ताएको अर्थतन्त्र सुधारका लागि व्यवसायी पक्राउ नगर्ने आश्वासन दिएको सरकारले प्रारम्भिक अनुसन्धानबिनै धमाधम पक्राउ गर्ने थालेपछि सरकारको नियतप्रति व्यवसायी संशकित बनेका छन्। जुनसुकै समयमा पक्राउ पर्न डरले अत्तालिएका उधोगी व्यवसायीहरुलाई ढाढस दिन अर्थमन्त्री स्वार्णिम वाग्ले, रवि लामिछानेलगायतले समेत व्यवसायी पक्राउ नपर्ने तर दोषी भए कारवाहीको दायरामा ल्याउने आश्वासनदिएका छन् । तर, व्यवसायीहरु पक्राउ पर्ने क्रम रोकिएन।

नेपालको निजी क्षेत्र अहिले सबैभन्दा ठूलो संकटमा छ। यसको असर समग्र अर्थतन्त्रमा पर्न थालेको छ । उद्योगी–व्यवसायीहरू त्रसित बन्नु, नयाँ लगानी विस्तार सुस्ताउनु, विदेशी साझेदारहरू सशंकित हुनु र पुँजी पलायनको जोखिम बढ्नु अहिले मुख्य चिन्ताको बिषय बनेको छ । यसले समग्र आर्थिक वातावरणलाई प्रभावित गरिरहेको छ।

सरकारले केहि दिनमै दर्जनभन्दा बढी व्यवासायी पक्राउ गरिसकेको छ। सरकारले व्यवसायी दीपक भट्ट, शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल, व्यवसायी सुलभ अग्रवाल,व्यवसायी साहिल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छा,नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशिष श्रेष्ठ, भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार श्रेष्ठ , चपुर निर्माण सेवा प्रालिका सञ्चालक अमृत बोहरा, पूर्वमन्त्री तथा निर्माण व्यवसायी विक्रम पाण्डे, व्यवसायी नवीन कुमार अग्रवाल, सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक विजय श्रेष्ठ, निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडु, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीइओ ज्योति पाण्डे लगायतका दर्जनौं व्यवसायी पक्राउ गरिसकेको छ।

‘पहिला थुन्ने अनि सुन्ने’ नीति लिएको सरकारको रवैयाप्रति निजी क्षेत्रका अधिकांश व्यवसायी शसंकित बनिरहँदा विवादित व्यवसायी चन्द्र प्रसाद ढकाल भने ढुक्क छन्। कारण हो – बालेन सरकारसँग चन्द्र ढकालको निकटतम पहुँच, प्रधानमन्त्री कार्यालयमा छोरी ज्वाई।

किन सुरक्षित छन् विवादित चन्द्र प्रसाद ढकाल ?

जुनै सरकार आएपछि सत्तामा पहुँच बनाउन खप्पिस ढकालले बालेन्द्र साहका साथी छोरा सचिन ढकाललाई समानुपातिक सांसद बनाई मन्त्री बनाउने योजना बनाएका थिए। तर अर्बपति ब्यापारीका छोरा समानुपातिक सूचिमा राखी रास्वपाले प्रणालीकै धज्जी उँडाइएको भन्दै चौतर्फी आलोचना भएपछि ढकालका छोरा सांसद नै बन्न पाएनन्। तर, सत्ताको वरीपरी नहुँदा आफ्नो व्यवसायीक करियर नै धरापमा पर्ने भएकाले चलाखीका साथ ढकालले आफ्नो जेठी श्रीमतीपट्टीका ज्वाई मनोज पौडेललाई प्रधानमन्त्री कार्यालयमा राख्न सफल भए। ढकालका ज्वाई अहिले प्रधानमन्त्री बालेनको सचिवालयमा छन्।

ढकालका अवैध लगानी, रेमिट्यान्सको आवरणमा हुँदै आएको हुण्डी कारोबार, कौडीका मूल्यमा सार्वजनिक जग्गा हडपेर अवैध तरिएकाले निर्माण गरिएका/ निर्माणधीन केबलकार, संरचना लगायतकाको प्रमाण केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीमा पुगेको छ। दर्जनौं व्यवसायी पक्राउ गरिसकेको बालेन सरकारले ढकालमाथि भने अनुसन्धान प्रक्रिया अघि बढाएको छैन। प्रभु समूहमाथि भएको अनुसन्धानका क्रममा ढकाल नेतृत्वको आईएमई रेमिटसमेत मुछिएको सीआईबीको प्रतिवेदनमै उल्लेख छ।

आईएमई समूहका अध्यक्ष चन्द्र ढकालमाथि आफूअनुकूल निर्णय गराउन राजनीतिक पहुँच, मिडिया प्रभाव र सरकारी संयन्त्र प्रयोग गरेको आरोप लामो समयदेखि लाग्दै आएको छ । अन्य व्यवसायीहरुलाई कमजोर बनाउन ढकालले आँफू निकटका मिडियामार्फत व्यवसायीलाई ‘विचौलिया’का रूपमा चित्रण गर्दै योजनाबद्ध प्रहार गर्दै आएको आरोप उनीमाथि छ। जति उनी विवादित छन्, नीति निर्माणदेखि नियुक्तिसम्म प्रभाव पार्ने काममा पनि ढकालको भूमिका उत्तिकै विवादित रहँदै आएको छ।

सुशीला कार्की नेतृत्वको सरकारका समयमा पनि ढकालले तत्कालिनन अर्थमन्त्री रामेश्वर खनालसँग मिलेर डेडिकेटेड फिडर र ट्रंक लाइन बिजुलीको बक्यौता विवादमा उल्टै व्यवसायीलाई आतंकित बनाएको बिषयमा निकै आलोचना खेपेका थिए। निजी क्षेत्रका व्यवसायी राज्य आतंकको मारमा हुँदासमेत महासंघको नेतृत्वमा रहेका ढकालले अभिभावकीय भूमिका निर्वाह नगरेपछि ढकालसँग व्यवसायी रुष्ट थिए । उल्टै प्रतिस्पर्धी व्यवसायीलाई कमजोर बनाउन राज्य संयन्त्र प्रयोग गरिएको भन्दै निजी क्षेत्रभित्रै उनीप्रति अविश्वास र विभाजन गहिरिएको थियो ।

आफ्नो व्यावसायिक स्वार्थ सुरक्षित गर्न राजनीतिक सम्बन्धलाई प्रयोग गर्ने पुरानो शैलीले ढकाललाई पछिल्लो समय झनै उजागर गरिदिएको छ। ‘यो नभए त्यो’ रणनीतिअनुसार प्रधानमन्त्री कार्यालयमै ज्वाई राखेपछि उनीमाथि विभिन्न आशंका पैदा भएका छन्। उनीमाथिको अनुसन्धान रोकिनुमा ज्वाईकै हात रहेको बताईएको छ।

राजनीतिक शक्ति केन्द्रसँग नजिक रहँदै आएका ढकालले परिस्थिति अनुसार आफ्नो सम्बन्ध विस्तार गर्दै लाग्ने गरेका छन् । एकातिर तत्कालीन सत्ता गठबन्धनसँग निकटता, अर्कोतर्फ नयाँ उदाएको राजनीतिक शक्ति रास्वपासँग सम्बन्ध बलियो बनाउने प्रयास उनले समानान्तर रूपमा अघि बढाएको चर्चा व्यवसायीक क्षेत्रमै हुने गरेको छ।

व्यापारिक स्वार्थको टकरावः ढकाल प्रभावशाली हुँदा भट्ट पक्राउ

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स आफ्नो समूहको पक्षमा पार्न ढकालले व्यापक लबिङ गरेको पाईइएको छ । यही क्रममा उनले दीपक भट्टसँग पटक–पटक भेटवार्ता गर्दै सहकार्यको प्रस्ताव पनि राखेका थिए । तर, सबै शर्तमा सहमति नभएपछि भट्ट र ढकालबीच सम्बन्ध झन् चिसिएको बताइन्छ । त्यसपछि भट्टमाथि राज्य संयन्त्रमार्फत दबाब सिर्जना गर्ने रणनीति अघि बढाइएको आरोप ढकालमाथि छ।

नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका बिषयमा कुरा नमिलेपछि निकट केहि मिडियामार्फत् अनर्गल प्रचारप्रसार गरी भट्टसँग निकट व्यवसायी, कम्पनी र व्यापारिक घरानामाथि अनुसन्धान तथा पक्राउ प्रक्रिया सुरु भएको भट्ट निकट स्रोतको दावी छ। भट्टलाई कमजोर बनाउन ढकालले आफ्ना लगानी रहेका केहि मिडियामार्फत भट्टलाई ‘विचौलिया’ को रुपमा चित्रण गर्दै लगातार प्रहार गर्दै आएका थिए । तर नीति निर्माणदेखि सरकारी नियुक्तिसम्म ढकाल आफैले पनि विचौलियाकै रुपमा प्रभाव पार्ने र निर्णय गराउने काम गर्दै आएका छन् । भट्टले कांग्रेस–एमाले निकट भएकाले पनि यो सरकारको पहिलो निशानामा परे।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड निकट ढकाल भने रास्वपालाई पनि ‘म्यानेज’ गरेर भट्टलाई कमजोर बनाउने र स्टक एक्सचेन्ज लगायतका कम्पनीको लाइसेन्स आफूले हात पार्ने मिसनमा छन्।

स्टक एक्सचेन्ज कम्पनीको लाइसेन्स आफ्नो समूहअनुकूल बनाउन व्यापारी चन्द्र ढकालले विभिन्न तहमा सक्रिय पहल गरेको स्रोतहरूको दाबी छ । आईएमई समूहको नेतृत्वमा नयाँ स्टक एक्सचेन्ज सञ्चालन गर्ने रणनीतिअन्तर्गत उनले विवादित व्यवसायी दीपक भट्टसँग पटक–पटक भेटवार्ता गरेका थिए । भट्ट निकट  स्रोतका अनुसार ढकाल दुई पटक सानेपास्थित निवासमै पुगेका थिए भने एक पटक आफ्नै लगानी रहेको लाजिम्पाटस्थित एक होटलमा बोलाएर समेत छलफल गरेका थिए ।

उक्त भेटघाटकै क्रममा ढकालले हिमालयन पुनर्बीमा कम्पनीको करिब २० करोड रुपैयाँ बराबरको शेयर आफ्नो पक्षमा ल्याउन सफल भएको दाबी समेत गरिएको छ । तर भट्टले ढकालका सबै सर्त स्वीकार नगरेपछि दुवै पक्षबीच सम्बन्ध चिसिएको थियो।

जेनजी आन्दोलनको पृष्ठभूमिमा बनेको नयाँ सरकारमार्फत भट्टमाथि कानुनी दबाब बढाउने, यसअघि अघि बढाइएको स्टक एक्सचेन्ज लाइसेन्स प्रक्रिया रोक्ने तथा नयाँ ढंगबाट प्रक्रिया सुरु गराउने प्रयाससमेत भएको थियो । त्यसका लागि ढकालले राजनीतिक तथा प्रशासनिक तहमा तीव्र लबिङ गरेको बताइएन्छ।

यद्यपि तत्कालीन सत्ता नेतृत्व र अर्थ मन्त्रालयभित्र भने त्यस विषयमा पूर्ण सहमति नरहेको र प्रक्रिया रोक्ने विषयमा सीमित समर्थन मात्रै प्राप्त भएपछि नयाँ लाइसेन्सको योजना तत्काल सफल हुन नसकेको स्रोतको दाबी छ । तर भट्टसँग सम्बन्धित आर्थिक कारोबार र लगानीमाथिको निगरानी तथा छानबिन भने त्यसयताकै अवधिदेखि क्रमशः अगाडि बढाइएको थियो ।

सेबोनमा पुन: पहुँच दोहोर्याउने खेल

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स आफ्नो हातमा पार्ने चन्द्र ढकालको कसरत रोकिएको छैन। ढकाल समूहसँग आर्थिक क्षेत्रका महत्वपूर्ण निकायमा प्रभाव जमाउँदै आएका ढकाल बैंकर हुन् व्यवसायी पनि आँफै हुन्। उनी बैंकमा लगानी गरेर नाफा पनि खान्छन्, बैंकमा राखिएको जनताको रकम सस्तोमा लिएर लगानी गर्छन् त्यसबाट पनि रिटर्न लिन्छन्। उनीसँग बीमा कम्पनी पी छ । आफ्नो विभिन्न कम्पनीमार्फत संचालित व्यवसायको बीमा आफ्नै कम्पनी गर्छन्, अपत्यासित दावी गरी जोखिम भुक्तानी पनि लिन्छन्। अब उनी जसरी पनि शेयर कारोबारका लागि आफ्नै कन्ट्रोलमा हुने ‘स्टक एक्सचेन्ज’ चाहन्छन्। पछिल्लो समय भएको व्यवसायी पक्राउको खेल सोहि मरिहत्तेको एउटा पार्ट हो।

नेप्सेमार्फत् हुने अनलाइन शेयर कारोबार प्रणाली वाइको अर्थात् चन्द्र ढकालकै कम्पनीको कब्जामा छ । ढकालको कम्पनी वाइकोमाथि जुनसुकै समयमा छानबिन हुने र यसको लाइसेन्स खोसिने भएपछि ढकालले यसअघि नेप्सेमा आफू निकटकै व्यक्ति नियुक्त गराउन सफल भएका थिए। ढकालमाथि वाईको मार्फत् नेप्सेको सिस्टम ह्याक गरी घाटामा गएको चन्द्रागिरी होटल तथा आफ्ना निजी कम्पनीको मूल्य स्वभाविक तथा अप्रकृतिक रुपमा वृद्धि गरि जनतालाई लुटिरहेको आरोप छ। सेबोनमा हुँदा ढकालले इन्साईडर ट्रेडिङ गरेको तथ्य बाहिरिएपछि उनी त्यहाँबाट निस्किएका थिए ।

नियामकमाथि कब्जा जमाउने पुरानै रणनीतिअनुसार ढकालले यसपटक पनि नेपाल राष्ट्र बैंकका बोर्ड सदस्य चिन्तामणी सिवाकोटीलाई नेपाल धितोपत्र बोर्डमा लैजान लागेको बताईएको छ। सिवाकोटी शिक्षामन्त्री सस्मित पोखरेलका ‘साना बा’ हुन्। मन्त्री पोखरेलका आफन्त भएको र सिवाकोटी आफ्ना पनि निकट रहेकाले ढकाल उनैलाई सेबोनको अध्यक्ष बनाउन दौडधुप गरिरहेको स्रोतको दावी छ। यसमा मन्त्री पोखरेल र प्रधानमन्त्री बालेनको सचिवालयमै रहेका ढकालका ज्वाईलेमार्फत कुरा अघि बढाएको प्रधानमन्त्री कार्यालय स्रोत बताउँछ। सिवाकोटी यसअघि राष्ट्र बैंकको गभर्नर छनौटको प्रतिष्पर्धामा ढकालले अघि सारेका पात्र हुन्। सिवाकोटीकी श्रीमती चन्द्र ढकाल नेतृत्वको ग्लोबल आईएमइ बैंककी जगीरे छिन्।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आईतवार ११:३३   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।