काठमाडौं । सत्तारुढ नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई लिएर आन्तरिक असन्तुष्टि र शक्ति संघर्ष बढ्न थालेको छ । लामो समयदेखि पार्टीभित्र निर्विकल्प नेताका रूपमा स्थापित ओली अहिले आफ्नै निकट मानिएका नेताहरूबाटै चुनौती सामना गरिरहेका छन् ।
एमालेभित्र “ओलीपछिको नेतृत्व” विषयमा बहस तीव्र बन्दै जाँदा विभिन्न शक्ति समूह सक्रिय हुन थालेका छन् । अध्यक्षकै संरक्षणमा अघि बढेका नेताहरू नै समानान्तर शक्ति निर्माणमा लागेको भन्दै बालकोट असहज बनेको चर्चा छ ।
शंकर पोखरेल, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङलगायत नेताहरूको सक्रियतालाई ओली निकट वृत्तले सन्देहपूर्ण रूपमा हेरेको बताइन्छ । विष्णु रिमाल र ईश्वर पोखरेल निकट समूहको गतिविधिप्रति पनि ओली सतर्क बनेको स्रोतहरूको दाबी छ ।
पार्टीभित्र निर्णय प्रक्रिया अत्यधिक केन्द्रीकृत भएको, सचिवालय बैठक नियमित नरहेको तथा संस्थागत छलफल कमजोर बनेको भन्दै असन्तुष्टि बढ्दो छ । संगठन र संसदीय व्यवस्थापनमा अध्यक्ष निकट व्यक्तिहरूलाई प्राथमिकता दिइएको आरोप नेताहरूले गर्दै आएका छन् ।
यद्यपि ओली अझै पनि एमालेभित्र सबैभन्दा प्रभावशाली शक्ति केन्द्रका रूपमा कायम छन् । तर विगतको जस्तो निर्विवाद प्रभाव भने कमजोर बन्दै गएको स्वीकारोक्ति एमालेभित्रै सुनिन थालेको छ ।





















प्रतिक्रिया