Logo

खेलकुद

एसियन गेम्स छनोट: नेपाल १९ रनले विजयी



काठमाडौं । महिला एसियन गेम्स क्वालिफायर अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । नेपालले चीनलाई १९ रनले हराएको हो ।

१२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रनमात्रै बनाउन सक्यो ।

उसका लागि कप्तान झु मिंगीले ३०, वाङ हिइङले २१, वि हैटिङले १८ तथा लि जियापिङले १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । चीनले अतिरिक्त १७ रन जोड्यो ।

बलिङतर्फ नेपालकी रिया शर्माले दुई तथा मनिषा उपाध्याय, कविता कुँवर र पूजा महतोले एक–एक विकेट लिए ।

त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित बायमास क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १२५ रन जोड्यो ।

उपकप्तान पूजा महतोले अर्धशतकीय इनिङ्स खेलिन् । ५७ बलमा ६ चौकाको मद्दतमा पुजाले ६३ रनको योगदान दिइन् ।

यस्तै, रुवि पोद्धारले २२ तथा सोनी पाख्रिनले १८ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ मा रिकले दुई तथा वाङ हिइङ र ली जियापिङले एक–एक विकेट लिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार १५:४६   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।