काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको तयारीमा पूर्ण रूपमा केन्द्रित भएको छ। महाधिवेशनलाई संगठनात्मक रूपमा बलियो आधार दिन पार्टीले देशभर जिल्ला अधिवेशनको अभियान सुरु गरेको छ।
पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार जेठ २३ र २४ गते देशका अधिकांश जिल्लामा एकैसाथ अधिवेशन आयोजना गरिएको छ। यसलाई रास्वपाले स्थापना कालपछि सबैभन्दा ठूलो संगठनात्मक अभ्यासका रूपमा लिएको छ।
शुक्रबार ३६ जिल्लामा अधिवेशन हुँदैछ। कोशी प्रदेशका झापादेखि सुनसरीसम्म, मधेशका महोत्तरी र रौतहटदेखि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लामा नयाँ नेतृत्व चयन तथा संगठन सुदृढीकरणका कार्यक्रम सञ्चालन भइरहेका छन्।
त्यसैगरी शनिबार थप २९ जिल्लामा अधिवेशन सम्पन्न हुनेछ। इलाम, धनुषा, चितवन, ललितपुर, रुपन्देही, सुर्खेत, कैलाली, कञ्चनपुरलगायत जिल्लामा नेतृत्व चयनका लागि प्रतिनिधिहरू जुट्ने भएका छन्।
पार्टीले जनाएको अनुसार विशेष संगठनात्मक परिस्थितिका कारण बारा जिल्लाको अधिवेशन भने जेठ २६ गते गर्ने निर्णय गरिएको छ।
रास्वपाको योजना अनुसार पहिलो राष्ट्रिय महाधिवेशनअघि ७७ मध्ये ६६ जिल्लामा अधिवेशन सम्पन्न हुनेछ। बाँकी ११ जिल्लाको अधिवेशन महाधिवेशनपछि चरणबद्ध रूपमा आयोजना गरिनेछ।
जिल्ला अधिवेशनसँगै अब प्रदेश अधिवेशनको तयारी पनि तीव्र पारिएको छ। जेठ २६ गते बागमती प्रदेशबाट प्रदेश अधिवेशनको सुरुवात गरिने कार्यक्रम तय भएको छ। त्यसपछि अन्य प्रदेशमा पनि क्रमशः अधिवेशन सम्पन्न गरिनेछ।
पार्टी नेतृत्वले जिल्ला तथा प्रदेश अधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई संगठनलाई संस्थागत बनाउने अभियानका रूपमा व्याख्या गरेको छ। छोटो अवधिमै राष्ट्रिय राजनीतिमा प्रभाव जमाएको रास्वपाले अब संगठन विस्तार, संरचनागत मजबुती र आन्तरिक लोकतन्त्रलाई थप व्यवस्थित बनाउने लक्ष्यसहित महाधिवेशनको तयारी अघि बढाएको छ।
आगामी महाधिवेशनले पार्टीको भावी राजनीतिक मार्गचित्र, नेतृत्व संरचना र वैचारिक दिशा तय गर्ने भएकाले अहिले भइरहेका जिल्ला तथा प्रदेश अधिवेशनलाई रास्वपाको संगठनात्मक भविष्यसँग जोडेर हेरिएको छ। पार्टीभित्र पनि महाधिवेशनलाई नयाँ चरणको सुरुवातका रूपमा लिइएको छ।




















प्रतिक्रिया