Logo

अर्थ

नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस–बोर्डर रेमिट्यान्स सेवा सञ्चालन



काठमाडाैं । नेपाल र भारतबीचको डिजिटल रकम आदान–प्रदानलाई थप सहज बनाउने उद्देश्यसहित नबिल बैंकले नयाँ क्रस-बोर्डर पर्सन-टु-पर्सन (पिटुपी) रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ। यो सेवामार्फत दुवै देशका ग्राहकहरूले सुरक्षित डिजिटल प्लेटफर्म प्रयोग गरी तत्काल रकम पठाउन तथा प्राप्त गर्न सक्नेछन्।

नबिल बैंकका ग्राहक रहेका भारतीय नागरिकहरूले अब बैंकको मोबाइल बैंकिङ एप ‘एनबैंक’ मार्फत भारतमा रहेका आफ्ना आफन्त, साथीभाइ वा परिवारका सदस्यलाई सजिलै रकम पठाउन सक्नेछन्। साथै, भारत वा नेपालका नागरिकहरूले नेपालमा नबिल बैंक प्रयोग गरिरहेका व्यक्तिहरूलाई पनि छिटो र सहज रूपमा पैसा पठाउन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीका अनुसार यो सेवा नेपाल र भारतबीचको डिजिटल भुक्तानी प्रणालीलाई अझ प्रभावकारी बनाउने महत्वपूर्ण पहल हो। उनले यसले सीमापार भुक्तानीलाई सरल र द्रुत बनाउँदै डिजिटल बैंकिङ सेवाको विस्तारमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

सेवाको प्रयोगलाई व्यवस्थित बनाउन बैंकले निश्चित कारोबार सीमा पनि निर्धारण गरेको छ। नेपालबाट भारत रकम पठाउँदा प्रतिदिन अधिकतम भारतीय रुपैयाँ १५ हजार र मासिक अधिकतम १ लाख रुपैयाँसम्म पठाउन सकिनेछ। त्यस्तै, भारतबाट नेपाल रकम पठाउँदा दैनिक अधिकतम २ लाख भारतीय रुपैयाँसम्म पठाउन पाइनेछ भने मासिक सीमाको व्यवस्था छैन।

यो सुविधा नेपालमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) र भारतमा युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपिआई) बीचको सहकार्यमा सञ्चालन गरिएको हो। यसले दुई देशबीच सुरक्षित, भरपर्दो र सहज डिजिटल भुक्तानी प्रणाली निर्माण गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

हाल नबिल बैंकले देशभर फैलिएका २६६ शाखा र ३१८ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। २५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको बैंकले डिजिटल बैंकिङ विस्तारलाई प्राथमिकतामा राख्दै ‘एनबैंक’ एपमार्फत आधुनिक बैंकिङ सुविधा उपलब्ध गराइरहेको छ।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आईतवार १६:०९   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।