Logo

पर्यटन

निर्माण ठप्प भएको पाथिभरा केवलकार बनाउन माग गर्दै स्थानीयको सद्भाव र्याली



काठमाडाै‌। बन्द भएको पाथीभरा केवलकार परियोजनाको निर्माण कार्य अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्‍याली निकालिएको छ।

‘विकासप्रेमी युवा समाज’को आयोजनामा निकालिएको उक्त र्‍यालीमा स्थानीयवासी, विभिन्न सङ्घसंस्था तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो। फुङ्लिङ बजार परिक्रमा गरेको र्‍याली वीरन्द्र चोकमा पुगेर सभामा परिणत भयो।

सभामा वक्ताहरूले केवलकार परियोजना केवल यातायातको साधन मात्र नभई विकासको एक महत्वपूर्ण पूर्वाधार भएको बताउँदै यसको निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्न सरकारसँग आग्रह गरे।

सहभागीहरूले यस परियोजनाले धार्मिक पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजारीकरण, पूर्वाधार विकास तथा स्थानीय अर्थतन्त्रको समग्र उन्नतिमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरे।

वक्ताहरूले केवलकार, जलविद्युत् र सडकजस्ता पूर्वाधारले ताप्लेजुङ मात्र नभई समग्र कोशी प्रदेश तथा राष्ट्रकै आर्थिक विकास र समृद्धिमा योगदान पुर्‍याउने भएकाले विकास निर्माणका कार्यमा अवरोध सिर्जना गर्न नहुने धारणा राखे।

परियोजनाको करिब ६० प्रतिशत निर्माण सम्पन्न भइसकेको अवस्थामा काम रोक्नु उपयुक्त नहुने उल्लेख गर्दै निर्माण कार्य शीघ्र सम्पन्न हुने वातावरण बनाउन पनि सरकारसँग आग्रह गरियो।

दशकौँदेखि पाथीभरा देवी मन्दिरसम्म पुग्ने केवलकार परियोजनाको चर्चा हुँदै आए पनि विभिन्न कारणले यसको निर्माणले मूर्त रूप लिन सकेको थिएन। केही वर्षअघि आइएमई समूहले परियोजनाको नेतृत्व लिएपश्चात् निर्माण कार्य अगाडि बढेको हो।

हाल परियोजनाको करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण पक्षले जनाएको छ। निर्माण कार्य स्थगन हुन सक्ने चर्चा चलिरहेकै बेला परियोजनालाई निरन्तरता दिनुपर्ने मागसहित यो सद्भाव र्‍याली आयोजना गरिएको थियो।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आईतवार २०:४५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।