काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो भिडियो भाइरल भएपछि स्पष्टीकरण दिएकी छिन् । सांसद भट्टराई गुडिरहेको कारको झ्यालबाट बाहिर निस्किएर रमाइलो गरिरहेको भिडियो भाइरल भएपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन् ।
सञ्जालमा मंगलबार बिहानैबाट भट्टराईले कारको झ्यालबाट निस्किएर रमाउँदै गरेको भिडियो भाइरल भएको थियो । उनले आफू सार्वजनिक जिम्मेवारीमा हुनुअघिको निजी समयसँग सम्बन्धित उक्त भिडियो पुरानो रहेको बताएकी छिन् ।
‘सबैभन्दा पहिले, उक्त भिडियो हालको नभई धेरै अघि व्यक्तिगत रूपमा यात्रा गरिरहेका बेला खिचिएको पुरानो भिडियो हो। सो भिडियो मेरो हालको सार्वजनिक जिम्मेवारी वा सरकारी नियुक्तिपूर्वको निजी समयसँग सम्बन्धित रहेको कुरा स्पष्ट गर्न चाहन्छु,’ सांसद भट्टराईले भनेकी छिन्, ‘उक्त भिडियो कुनै सरकारी कार्यक्रम, सार्वजनिक दायित्व वा औपचारिक भूमिकासँग सम्बन्धित थिएन। यो मेरो निजी जीवनको एक सामान्य र सहज क्षण मात्र थियो ।’
भिडियोमा देखिएको गतिविधिलाई कुनै राजनीतिक, प्रशासनिक वा सार्वजनिक सन्देशसँग जोडेर व्याख्या गर्नु उचित हुन नसक्ने उनको भनाइ छ ।
‘सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूप्रति नागरिकहरूको चासो स्वाभाविक हुन्छ र म त्यसको सम्मान गर्दछु । तर सार्वजनिक पदमा रहँदैमा व्यक्तिले आफ्नो निजी जीवनका सामान्य क्षणहरू जिउने अधिकार गुमाउँदैन भन्ने विश्वास राख्दछु,’ उनले भनेकी छिन्, ‘म सार्वजनिक पदमा रहे पनि सबैभन्दा पहिले एक नागरिक हुँ, र अन्य नागरिकसरह मेरो पनि निजी जीवन तथा व्यक्तिगत स्वतन्त्रताको अधिकार छ ।’
विगतका यस्ता अनुभवबाट सिक्दै भविष्यमा यस्ता गतिविधि नदोहोर्याउने उनको भनाइ छ । ‘विगतका यस्ता अनुभवहरूबाट सिक्दै भविष्यमा म स्वयंले पनि यस्ता गतिविधि दोहोर्याउने छैन र सम्पूर्ण नागरिकहरूलाई समेत ट्राफिक नियमहरूको पूर्ण पालना गर्दै सुरक्षित यात्रा गर्न आग्रह गर्दछु । यसलाई आलोचना वा विवादको विषयभन्दा पनि सडक सुरक्षा सम्बन्धी सचेतनाको अवसरका रूपमा लिन सकिन्छ भन्ने मेरो अपेक्षा छ,’ उनले भनेकी छिन् ।




















प्रतिक्रिया