Logo

अर्थ

माउन्ट एभरेष्ट पावरको आईपीओ बिक्री खुल्यो



काठमाडौं। माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुलाएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपछि सर्वसाधारणलाई बिक्री खुलाएको हो।

कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख बराबरको २५ लाख ८० हजार कित्ता सेयर निष्कासन अनुमति पाएको थियो।

यसमध्ये ८ लाख ६० हजार कित्ता साधारण सयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र १ लाख ७२ हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

त्यस्तै, कम्पनीले ३४ हजार ४०० कित्ता सेयर कर्मचारीका लागि र ८६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ।

कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख २७ हजार ६०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गर्नेछ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्कासन बन्द छिटोमा असार ८ गते हुनेछ भने ढिलोमा असार १७ गते हुनेछ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको १२ मेगावाटको दूधकुण्ड खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ९३ लाख २० हजार ४२ रुपैयाँ छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको छ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार ०८:५२   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।