Logo

खेलकुद

एक दिवसीय क्रिकेटमा पारसको पहिलो शतक, नेपाललाई ऐतिहासिक एक दिवसीय सिरिज



नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि शतक बनाउने पहिलो खेलाडी भएका छन् । युएईविरुद्ध जारी तेस्रो खेलमा शतक बनाउँदै पारसले ऐतिहासिक उपलब्धि हासिल गरेका हुन् ।

शतक बनाउने क्रममा पारसले १३ चौका र एक छक्का प्रहार गरेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पारसले सोमपाल कामीको सर्वाधिक व्यक्तिगत रनको रेकर्ड समेत तोडेका छन् । सोमपालले गत वर्ष नेदरल्याण्डसँगको एकदिवसीय सिरिजमा ६१ रनको इनिङ खेलेका थिए ।

पारसले सन् २०१२ को एसिसी ट्रफी प्रतियोगितामा कुवेतविरुद्ध पहिलो शतक प्रहार गरेका थिए । त्यसपछि सन् २०१६ को नेपालमै भएको आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनशिपमा नामिबियाबिरुद्ध शतक प्रहर गरेका पारसले गत वर्ष युएईविरुद्ध नामिबियामा आयोजित विश्व क्रिकेट लिग डिभिजन–२ को फाइनलमा शतक बनाएका थिए ।

नेपाललाई ऐतिहासिक एक दिवसीय सिरिज

नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जित्दै इतिहास कायम गर्न सफल भएको छ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जित्दै नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको हो । दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीमा आज भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा युएईलाई चार विकेटले हराउँदै नेपालले पहिलो पटक एकदिवसीय क्रिकेट सिरिज जितेको हो ।

तीन खेलको सिरिजमा पहिलो खेल गुमाए पनि नेपालले दोस्रो र तेस्रो खेल जित्दै सिरिजमाथि कब्जा जमाएको हो । क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट एकदिवसीय मान्यता पाएपछि नेपालले पहिलो पटक सिरिज २–१ ले जितेको हो ।

आइसिसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले यसअघि गत असारमा नेदरल्याण्डसँग डेब्यु एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो । जुन सिरिज १–१ को बराबरीमा सकिएको थियो ।

कप्तान पारस खड्काले शतकीय इनिङ्स खेलेपछि युएईले दिएको २५५ रनको लक्ष्य नेपालले छ विकेट गुमाएर पुरा ग¥यो । नेपालको जितमा कप्तान पारसले १०९ बलको सामना गर्दै ११५ रन जोडे । ओडीआईमा पहिलो शतक बनाउने नेपालीसमेत बनेका पारसको इनिङ्समा १५ चौका र १ छक्का सामेल थियो ।

नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ रन जोडे । त्यस्तै सोमपाल कामीले अविजित २६ तथा आरिफ शेखले अविजित २१ रन बनाए । त्यस्तै विनोदभण्डारीले नौ, रोहितकुमार पौडेलले १६ र दिपेन्द्रसिंह ऐरीले छ रन बनाएका थिए । युएईका इमरान हेदर र अस्फाक अहमदले दुई-दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको युएईले पूरै ५० ओभर खेल्दै छ विकेट गुमाएर २५४ रन जोडेको थियो । खराब शुरुआत गरेको युएईका मध्यक्रमका ब्याट्सम्यानले सम्हालिएको खेल प्रदर्शन गर्दा युएईले फराकिलो स्कोर बनाएको हो ।

पावर प्लेमा मात्र १४ रन जोड्न सफल युएईले दुई रन जोड्दा २ विकेट गुमाएको थियो । तर, शाइमन अनवार र सिपी रिजवानले पाँचौ विकेटका लागि १०० रनको साझेदारी गर्दै युएईको स्कोर फराकिलो बनाएका थिए । अर्धशतकीय इनिङ् खेलेका अनवार ८७ रनमा आउट भए । रिजवानले ४५ रन जोडेर आउट भए ।

नेपाललाई फराकिलो लक्ष्य दिने क्रममा युएईले अन्तिम २ ओभरमा ४३ रन जोडेको थियो । उसका लागि आक्रामक ब्याटिङ गर्दै मोहमद बुटाले पनि ५९ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै युएईका मोहमद उसमान २६ तथा गुलाम सब्बीर १८ रनमा आउट भए ।

नेपालका कप्तान पारस र करण केसीले दुई-दुई विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले एक-एक विकेट लिए । सिरिजमा नेपालका कप्तान पारस प्लेयर अफ दि सिरिज बनेका छन् । कप्तान पारस प्लेयर अफ दि म्याचसमेत चुनिएका थिए । नेपालले अब यूएइसँग तीन टि–२० सिरिज खेल्नेछ ।

प्रकाशित मिति : माघ १४, २०७५ सोमबार  ११ : २५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।