Logo

समाचार

उच्च अदालत जाने म्याद बाँकी रहँदै मलाई पक्राउ गरियो: सेफ सन्तोष साह



काठमाडौं । बिबिसी मास्टरसेफका प्रतिस्पर्धी तथा चर्चित नेपाली सेफ सन्तोष साहले आफ्नो पक्राउ प्रकरणबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका कतिपय कुराहरु भ्रमपूर्ण रहेको प्रष्ट पारेका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै साहले विवादित ४ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने भन्दै जिल्ला अदालत काठमाडौँले गरेको फैसलाविरुद्ध उच्च अदालत जाने तयारी भइरहेका बेला हदम्याद बाँकी हुँदाहुँदै आफुलाई पक्राउ गरिएको आरोप लगाएका छन् । एक महिना अघि पक्राउ पूर्जी आएपनि आफू भद्रकाली परिसरमा जाँदा किन पक्राउ नगरी जनकपुरबाट पक्राउ गर्ने काम भयो भन्ने उनले आशंका व्यक्त गरेका छन् ।

उनले सिला रेष्टुरेन्टको सम्पत्ति खरिदका लागि मिथिला थाली र आर्जव होल्डिङ्सबीच २ करोड २५ लाख रुपैयाँको सम्झौता भएको भन्दै सोही क्रममा आर्जव होल्डिङ्सको तर्फबाट बाँकी रहेको ४० लाख रुपैयाँ घरभाडा र २ लाख ७७ हजार ९९७ रुपैयाँ विद्युत् महसुलसमेत मिथिला थालीले सम्बन्धित पक्षलाई भुक्तानी गरेर सहजीकरण गरेको समेत स्पष्ट पारेका छन् ।

उनले मिडियामा २ करोड २५ लाखको कुरा चर्चामा आएको कुरा झुटो रहेको भन्दै ४ लाख पचार हजारको चेकको लागि पक्राउ गरिएको जानकारी दिए ।

उनले भने,‘मिथिला थाली र आर्जव होल्डिङ्सबीच २ करोड २५ लाख रुपैयाँको सम्झौता गरेर सिला रेष्टुरेन्ट किनेको थियौं । म रारा ट्रेकिङमा गएको थिए । मेरो दाई र सहकर्मी साथिले सम्झौता गरेर १५ लाखको चेक दिएर चाबी लिनुभयो । उहाँको ४० लाख रुपैयाँ घरभाडा बाँकी थियो । त्यो मैले उहाँहरुको हिसाबमा काट्नेगरी उपलब्ध गराको थिए । उहाँलाई हामीले मलाई २ करोड २५ लाख रुपैयाँको पनि चेक दिएको थिए । अहिले मिडियामा आएको कुरा २ करोड २५ लाखको होइन । मलाई अहिले पक्राउ गरेको भनेको जम्मा ४ लाख पचार हजारको चेकको लागि भएको हो ।’

उनले पछिल्लो समय चर्चामा आएको २५ लाख रुपैयाँको विवादबारे पनि स्पष्ट पार्दै उक्त रकम एकमुष्ट बाँकी नभई आर्जव होल्डिङ्सकै विभिन्न बैंक खातामा चरणबद्ध रूपमा रकम भुक्तानी गरिएको बताए ।

उनले नबिल बैंकमार्फत १७ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकमार्फत ६ लाख रुपैयाँ तथा नेपाल बैंक लिमिटेडमार्फत ५ लाख २५ हजार रुपैयाँ गरी कुल २८ लाख २५ हजार रुपैयाँ बैंकिङ प्रणालीमार्फत भुक्तानी भइसकेको जनाए ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार १३:२७   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।