Logo

प्रमुख समाचार

राहदानी छपाइ प्रकरणमा अख्तियारले आरजुलाई बयानका लागि बोलायो



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिद छपाइ प्रकरणमा बयानका लागि तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बोलाएको छ । आयोगले २ दिनअघि (मंगलबार) बूढानीलकण्ठस्थित देउवा निवासमा बयानका लागि म्याद तामेलीको सूचना टाँसेको हो । सूचना टाँसेको मितिले बाटोको म्यादबाहेक ३ दिनभित्र आयोगको टंगालस्थित कार्यालयमा बयान दिन उपस्थित हुन भनिएको छ ।

तोकिएको अवधिमा उपस्थित नभए कानुन बमोजिम प्रक्रिया अगाडि बढाइने आयोगले जनाएको छ ।

सूचनामा भनिएको छ- यस आयोगमा परेको वादी नेपाल सरकार प्रतिवादी आरजु राणा देउवा समेत भएको राहदानी छपाई सम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरीको अनुसन्धानको सिलसिलामा तपाईसँग बयान लिनुपर्ने भएकोले यो सूचना बुझेको वा तपाईँको घरदैलोमा टाँस भएको मितिले बाटोको म्याद बाहेक ३ (तीन) दिनभित्र यस आयोगको महाशाखा नं. १२, कोठा नं. १२ टंगाल, काठमाडौंमा उपस्थित हुन आउनु होला, नआए कानुन बमोजिम हुनेछ ।

गत फागुन १३ गते उपचारका लागि देउवा दम्पती सिंगापुर गएका थिए । हाल हङकङमा रहेको बताइएको छ ।

राहदानी खरिद ठेक्का प्रकरणमा अख्तियारले हालसम्म राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनीलकुमार केसी, जर्मन कम्पनी मुह्रबाउरका नेपाली एजेन्ट मनिन्द्रराज मल्ल र विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्यलाई पक्राउ गरिसकेको छ । विशेष अदालतले उनीहरूलाई अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको छ ।

 

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार १५:२७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।