Logo

अन्तर्राष्ट्रिय

ट्रम्पले गरे हर्मुजको जलडमरूसम्बन्धी महत्त्वपूर्ण घोषणा



काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यसम्बन्धी महत्त्वपूर्ण घोषणा गरेका छन्।

उनले युद्धविरामको अवधिमा ६० दिनसम्म होर्मुज जलडमरूमध्यबाट आवतजावत गर्ने जहाजहरूबाट कुनै शुल्क नलिइने बताएका छन्।

यो घोषणा त्यतिबेला आएको हो, जब इरानको खातम अल–अम्बिया मुख्यालयले होर्मुज जलडमरूमध्य जहाजहरूको आवागमनका लागि बन्द गरिएको दाबी गरेको छ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत लेखेका छन्, “युद्धविरामको अवधिमा ६० दिनसम्म होर्मुज जलडमरूमध्यमा कुनै शुल्क लाग्ने छैन। ६० दिनपछि पनि अमेरिका स्वयंले शुल्क लगाउने निर्णय नगरेसम्म कुनै शुल्क लाग्ने छैन।”

उनले थप लेखेका छन्, “यदि सम्झौता पूर्ण रूपमा कार्यान्वयन भएन भने मध्यपूर्वका देशहरूको सुरक्षाका लागि अमेरिकाले विगतदेखि हालसम्म तथा भविष्यमा व्यहोरेका खर्चको क्षतिपूर्ति स्वरूप शुल्क निर्धारण गरिनेछ।”

यसअघि शनिबार इरानको इस्लामिक क्रान्तिकारी सुरक्षा बलको नौसैनिक शाखाले अमेरिका र इजरायलले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै होर्मुज जलडमरूमध्य सबै जहाजका लागि बन्द गरिएको जनाएको थियो।

तर अमेरिकाले उक्त दाबी अस्वीकार गरेको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले एक अन्तर्वार्तामा होर्मुज जलडमरूमध्य पूर्ण रूपमा खुला रहेको बताएका छन्।

उनले भने, “इरानले अझै पनि होर्मुज जलडमरूमध्य बन्द गरेको भन्ने कुनै प्रमाण हामीले फेला पारेका छैनौँ।”

प्रकाशित मिति : ७ असार २०८३, आईतवार ०८:२४   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।