Logo

प्रमुख समाचार

रास्वपा प्रथम महाधिवेशन : यस्तो छ आजको सम्भावित कार्यसूची



चितवन ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र सोमबार बिहान ८:३० बजेदेखि सुरु हुने भएको छ। बन्दसत्र उद्योग संघको प्रदर्शनी केन्द्रमा आयोजना गरिनेछ।

प्रदर्शनी केन्द्रका तीनमध्ये दुई हल बन्दसत्रका लागि र एउटा हल खाजा तथा भोजन व्यवस्थापनका लागि तयारी गरिएको छ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको प्रारम्भमा अनुशासन आयोगका संयोजक रमाकान्त रिमालले आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यसपछि प्रतिवेदनमाथि छलफल हुनेछ।

कार्यसूचीअनुसार बिहान ९ बजे कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने त्यसमाथि छलफल हुनेछ। बिहान १० बजे महामन्त्री बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ। त्यसपछि प्रतिवेदनमाथि छलफल गरिनेछ।

बिहान १०:४५ बजे सहमहामन्त्रीले विधानसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने र त्यसलाई अनुमोदन गराइने जनाइएको छ। यस्तै, पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

उक्त प्रतिवेदनमाथि छलफल र अनुमोदनपछि अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गरिने तथा आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यसूची रहेको छ।

दिउँसो भोजनपछि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र निर्वाचन तालिका सार्वजनिक गर्नेछ।

रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार बन्दसत्रमा ४ हजार २११ प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवक सहभागी हुनेछन्। आज र भोलिका लागि भोजनको व्यवस्था पनि सोही स्थानमा गरिएको छ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार दिउँसो १ बजेपछि उम्मेदवारी मनोनयनका फाराम वितरण गरिनेछ। उम्मेदवारी दर्ता दिउँसो २ बजेदेखि ४ बजेसम्म हुनेछ भने साँझ ६ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशित गरिनेछ।

साँझ ६ बजेदेखि ७ बजेसम्म दाबी–विरोध दर्ता गर्ने समय तोकिएको छ। दाबी–विरोधमाथि साँझ ७ बजेदेखि ९ बजेसम्म छानबिन गरिनेछ। उम्मेदवारले राति ९:१५ बजेसम्म नाम फिर्ता लिन सक्नेछन् भने अन्तिम नामावली राति ११ बजे प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ।

महाधिवेशनअन्तर्गत असार ९ गते मंगलबार बिहान ८:३० बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदान हुनेछ। एक सभापति र ९९ केन्द्रीय सदस्यका लागि मतदान गरिनेछ।

मतदान सम्पन्न भएको करिब दुई घण्टापछि मतगणना गरी नतिजा सार्वजनिक गरिने र त्यसपछि आवश्यक परे दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढाइने जनाइएको छ।

रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्र शनिबार चितवनको गेष्टहाउस चौरमा सम्पन्न भएको थियो।

 

प्रकाशित मिति : ८ असार २०८३, सोमबार ०८:३४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।