Logo

खेलकुद

फिफा विश्वकप २०२६ मा रातो कार्डको वर्षा, खेलाडी निष्कासन संख्या ८ पुग्यो



काठमाडौं । फिफा विश्वकप २०२६ मा खेलाडी निष्कासनको संख्या उल्लेखनीय रूपमा बढेको छ । प्रतियोगितामा हालसम्म देखाइएका रातो कार्डको संख्या ८ पुगेको छ, जुन सन् २०१८ र २०२२ का विश्वकपमा देखाइएका कुल रातो कार्ड (४–४) को संयुक्त संख्यासरह हो ।

फक्स स्पोट्र्सका अनुसार आइतबार समूह ‘सी’ अन्तर्गत बेल्जियम र इरानबीच भएको खेलमा बेल्जियमका डिफेन्डर नाथन न्गोयले इरानका मेहदी तात्सुमीलाई स्पष्ट गोल गर्ने अवसरबाट रोक्ने क्रममा फउल गरेपछि ६६औँ मिनेटमा सिधै रातो कार्ड पाएका थिए ।

त्यसपछि बेल्जियम १० खेलाडीमा सीमित भए पनि खेल गोलरहित बराबरीमा सकिएको थियो ।

हालसम्म प्रतियोगितामा देखाइएका ८ रातो कार्डमध्ये ६ वटा सिधै दिइएको छ । यसले प्रतियोगिताको प्रतिस्पर्धात्मकता र खेलाडीहरूको आक्रामक शैलीलाई समेत प्रतिबिम्बित गरेको विश्लेषण गरिएको छ ।

विश्वकप इतिहासमा एक संस्करणमा सबैभन्दा धेरै २१ रातो कार्ड सन् २००६ मा देखाइएको थियो, जसमध्ये ९ वटा सिधै रातो कार्ड थिए । त्यसपछि सन् २०१० को विश्वकपमा १७ तथा सन् २०१४ मा १० खेलाडी निष्कासित भएका थिए ।

यस विश्वकपमा रातो कार्ड पाउने अन्य चर्चित खेलाडीमा पाराग्वेका मिगुएल अल्मिरोन रहेका छन्, जसलाई टर्कीविरुद्धको खेलमा भिडियो सहायक रेफ्री (भिएर) को समीक्षा पछि मैदानबाट बाहिर पठाइएको थियो ।

त्यस्तै कतारका असिम मादिबो र मोआज अहमद क्यानडाविरुद्धको खेलमा निष्कासित भएका थिए । यस्तै, बोस्निया एन्ड हर्जेगोभिनाका तारिक मुहरामोभिचले स्विट्जरल्यान्डका ब्रेल एम्बोलोलाई पेनाल्टी क्षेत्र नजिक स्पष्ट गोल अवसरबाट वञ्चित गरेपछि रातो कार्ड पाएका थिए। जमैकाका वार हन्ट पनि दक्षिण अफ्रिकाविरुद्धको खेलमा अन्तिम समयमा निष्कासित भएका थिए ।

दक्षिण अफ्रिकाले पनि अनुशासनसम्बन्धी समस्या भोगेको छ । मेक्सिकोविरुद्धको उद्घाटन खेलमा थेम्बा ज्वाने र स्पेफेलो सिथोले दुवैले रातो कार्ड पाएका थिए ।

प्रतियोगिता अझै प्रारम्भिक चरणमै रहेकाले रातो कार्डको संख्या आगामी खेलहरूमा थप बढ्ने सम्भावना छ । यसले सन् २०१४ को १० तथा सन् २०१० को १७ रातो कार्डको कीर्तिमानलाई चुनौती दिने वा नदिने भन्ने विषयमा फुटबल वृत्तमा चासो बढेको छ । एएनआई

प्रकाशित मिति : ८ असार २०८३, सोमबार ०९:०८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।