चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा हिजोदेखि सुरु भएको पहिलो महाधिवेशनको बन्दसत्रको कार्यक्रम आजदेखि सुरु हुँदैछ ।
देशभरका विभिन्न जिल्ला, प्रवास, विभिन्न तहका कमिटीबाट झण्डै ४१ सय प्रतिनिधि महाविधेशनमा सहभागी हुन आएका छन् । महाविधेशनको बन्दसत्र चितवन उद्योग संघको प्रर्दशनी केन्द्रमा सुरु हुँदैछ ।
महाधिवेशनमा देशभरका विभिन्न जिल्ला, प्रवास र विभिन्न तहका कमिटीहरूबाट करिब ४ हजार १०० प्रतिनिधिहरू सहभागी हुन चितवन आइपुगेका छन् ।
प्रतिनिधि व्यवस्थापन उपसमितिका अनुसार प्रतिनिधि र अन्य सहभागी गरी कुल ५ हजार जनाको व्यवस्थापन मिलाइएको छ ।
महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरूले आइतबार पार्टीको समन्वयमा आफैँले होटल खोजेर बसेका थिए । आइतबारको खानपिनको व्यवस्था पनि उनीहरूले आफैँ गरेका थिए । रास्वपाले प्रत्येक प्रतिनिधिसँग ५ हजार रुपैयाँ अधिवेशन शुल्क उठाएको छ । प्रतिनिधिहरूले होटलमा बास बसेको रकम भने आफैँले भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।
खानामा के के ?
आजदेखि भने रास्वपाले नै प्रतिनिधिहरूको खानपानको पूर्ण व्यवस्थापन गरेको छ । महाधिवेशनस्थलमै बिहान ७ बजेदेखि ‘ब्रेकफास्ट’ (नास्ता) वितरण सुरु भइसकेको छ । भोजन व्यवस्थापन उपसमितिका अनुसार प्रतिनिधिहरूलाई बिहानको नास्ता, बिहानको खाना, दिउँसो हाइटी र बेलुकाको रात्रीभोजको व्यवस्था गरिएको छ ।
बिहानको खानामा खसीको मासु र भातलाई मुख्य परिकार बनाइएको छ । ५ हजार सहभागीका लागि बिहानको खानामा मात्रै दैनिक झण्डै ८ क्विन्टल खसीको मासु खपत हुने अनुमान गरिएको छ ।
बिहान र बेलुकाको खानामा कम्तीमा १० प्रकारका परिकारहरू (आइटम) समावेश गरिनेछ, जसमा जिरा राइस, दाल, तरकारी, अचार, सलाद र दही रहनेछन् ।
मासु नखाने (शाकाहारी) सहभागीका लागि पनिर र च्याउको छुट्टै व्यवस्था गरिएको छ भने साथमा मौसमी तरकारी पनि राखिनेछ । बेलुकाको खानामा भने ‘मिक्स भेज’ तरकारी खुवाइने जनाइएको छ ।
खानपान व्यवस्थापनको जिम्मेवारी चितवनको क्षेत्रपुरस्थित दियालो फुडल्याण्डले तीन दिनका लागि लिएको छ ।
सहभागीहरूलाई खानाका लागि कुपनको व्यवस्था गरिएको छ । खाना वितरणका लागि १५ वटा डबल-साइड टेबल स्टलहरू राखिएका छन्, जसले गर्दा भीडभाड नभई सहजै खाना लिन सकिनेछ ।
यस्तो छ खाना तालिक
बिहान ७ बजेदेखि: ब्रेकफास्ट
दिउँसो १:०० देखि २:३० सम्म: बिहानको खाना
दिउँसो ३:०० देखि ५:०० सम्म: हाइटी
बेलुका ६:०० देखि ९:०० सम्म: बेलुकाको खाना
खाना तथा खाजा व्यवस्थापनका लागि फुडल्याण्डले झण्डै २०० कर्मचारी परिचालन गरिएको जनाएको छ।




















प्रतिक्रिया