Logo

राजनीति

विष्णु पक्राउपछि प्रदीपले भने- ‘पहिले गिरफ्तार गर्ने, अनि अनुसन्धान थाल्ने शैली गलत’



काठमाडौं। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई लिएर राज्यका निकायहरू पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुनु नहुने बताएका छन्।

उपाध्यक्ष पौडेल सोमबार सुर्खेतबाट पक्राउ परेपछि सामाजिक सञ्जालमार्फत लेख्दै नेता ज्ञवालीले अनुसन्धान र न्याय निरूपणको स्थापित विधि मिचिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

ज्ञवालीले पहिले निष्पक्ष अनुसन्धान गर्ने र अदालतको निर्णयका आधारमा मात्र नियन्त्रणमा लिने प्रक्रिया हुनुपर्नेमा अहिले त्यसको उल्टो अभ्यास भइरहेको उल्लेख गरेका छन्।

‘पहिले निष्पक्ष र गहिरो अनुसन्धान गर्ने, अभियोजन पश्चात् अदालतको निर्णयका आधारमा अगाडि बढ्ने र अत्यावश्यक स्थितिमा मात्रै नियन्त्रणमा लिने विधि नै स्थापित विधि हुनुपर्ने हो,’ ज्ञवालीले लेखेका छन्, ‘तर पहिले गिरफ्तार गर्ने र बल्ल अनुसन्धान सुरु गर्ने शृङ्खला लामो समयदेखि चलिरहेको छ।’

राज्यका संवैधानिक र कानुनी निकायले गर्ने अनुसन्धानमा सहयोग गर्ने र न्यायालयको फैसलालाई सहज ढङ्गले स्वीकार गर्ने एमालेको स्थापित मान्यता रहेको समेत उनले उल्लेख गरेका छन्।

एमालेले सधैँ विधिको शासनलाई अवलम्बन गर्दै आएको उल्लेख गर्दै ज्ञवालीले आफूमाथि उठेका प्रश्नको कानुन सम्मत् सामना गर्न नेताहरू तयार रहने बताए।

नेता ज्ञवालीले राज्यका कुनै पनि निर्णयहरू प्रतिशोध प्रेरित हुन नहुने भन्दै वर्तमान अनुसन्धान प्रक्रियाको शैलीमाथि प्रश्न उठाए। उनले कानुनी राज्यमा प्रक्रिया मिचेर गरिने गिरफ्तारी उचित नहुने बताए।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारपछि प्रहरीले सोमबार दिउँसो उपाध्यक्ष पौडेललाई सुर्खेतबाट नियन्त्रणमा लिएको थियो। उनलाई हाल नेपालगञ्जमा राखिएको छ भने भोलि बिहानको उडानबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार २०:५५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।