Logo

पर्यटन

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ, डेढ महिनामा डेढ लाख आगमन



पोखरा । पर्यटकीय राजधानी पोखरामा पछिल्ला डेढ महिनायता भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढेपछि यहाँका होटल तथा पर्यटन व्यवसाय चलायमान बनेका छन्।

लेकसाइड क्षेत्र, फेवातालस्थित तालबाराही मन्दिर तथा अन्य धार्मिक–पर्यटकीय गन्तव्यमा भारतीय पर्यटकको चहलपहल बढेको व्यवसायीहरू बताउँछन्।

होटल संघ पोखरा, नेपालका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार गण्डकी प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू—तालबाराही मन्दिर, विन्ध्यवासिनी मन्दिर, मुक्तिनाथलगायत विभिन्न पदयात्रा मार्गमा भारतीय पर्यटकको उपस्थिति उत्साहजनक छ।

भारतमा बढ्दो गर्मीबाट राहत खोज्ने र बिदाको समय सदुपयोग गर्ने उद्देश्यले भारतीय नागरिकले नेपाललाई सहज तथा आकर्षक गन्तव्यका रूपमा रोज्न थालेको उनले बताए।

उनका अनुसार पर्यटक आगमन बढेसँगै डुङ्गा सयर, प्याराग्लाइडिङ, पदयात्रा, र्याफ्टिङ तथा बन्जी जम्पजस्ता गतिविधिमा समेत चाप बढेको छ।

फेवा डुङ्गा व्यवसायी सङ्गठनका सहसचिव धनबहादुर विकले फेवातालमा दैनिक चारदेखि पाँच हजारसम्म भारतीय पर्यटकले डुङ्गा सयर गर्ने गरेको जानकारी दिए। उनका अनुसार अधिकांश पर्यटक तालको बीचभागमा रहेको तालबाराही मन्दिरमा दर्शनका लागि जाने गरेका छन्।

“पहिले दिनभरि डुङ्गा कुरेर पनि बेलुका रित्तो हात घर फर्किनुपर्ने अवस्था थियो,” विकले भने, “अहिले भारतीय पर्यटकको चाप बढेसँगै व्यवसायमा उल्लेख्य सुधार आएको छ।” उनका अनुसार बाराही घाटबाट मात्र दैनिक १४० वटा डुङ्गा सञ्चालनमा छन्।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका कोषाध्यक्ष दीपक सापकोटाले पछिल्लो डेढ महिनामा मात्र करिब डेढ लाख भारतीय पर्यटक पोखरा आएको बताए।

उनका अनुसार उनीहरू धार्मिक स्थलको भ्रमणसँगै छोटो दूरीका पदयात्रा, प्याराग्लाइडिङ, बन्जी जम्प, डुङ्गा सयर तथा र्याफ्टिङमा आकर्षित भएका छन्।

भारतीय पर्यटकको आगमनले पाँचतारे होटलदेखि साना होटल र धर्मशालासम्म भरिभराउ भएको व्यवसायीहरूको भनाइ छ।

होटल व्यवसायी पार्वती पाण्डेका अनुसार भारतीय पर्यटकले कोठाभन्दा खानाको मूल्यमा बढी मोलमोलाइ गर्ने गरेका छन्। “भारतमा होटलका कोठा तुलनात्मक रूपमा महँगा हुने भएकाले उनीहरू रुममा खासै बार्गेनिङ गर्दैनन्,” उनले भनिन्।

उनले भारतमा नेपालको धार्मिक तथा पर्यटकीय गन्तव्यको प्रभावकारी प्रचारप्रसार गर्न सके भारतीय पर्यटकको आगमन अझ बढ्ने विश्वास व्यक्त गरिन्।

सामान्यतया पर्यटन व्यवसायीहरूले यो समयलाई ‘अफसिजन’ मान्ने गरे पनि यस वर्ष पर्यटकको चाप बढेपछि व्यवसायी उत्साहित छन्। नेपाली नयाँ वर्षपछि सुरु भएको पर्यटक आगमनको लहर जेठको अन्त्यसम्म पनि निरन्तर रहेको उनीहरूको भनाइ छ।

पर्यटन व्यवसायीहरूका अनुसार पछिल्लो एक महिनामा मात्र पोखरामा करिब डेढ लाख भारतीय पर्यटक भित्रिएका छन्। यस अवधिमा पोखराका होटलहरूको अकुपेन्सी ९० प्रतिशतसम्म पुगेको बताइन्छ।

भारतीय पर्यटकले विशेषगरी तालबाराही, पुग्दीको शिव मन्दिर, केदारेश्वर, विन्ध्यवासिनी, मुक्तिनाथ र मनकामना मन्दिरको भ्रमण गर्ने गरेका छन्।

प्रकाशित मिति : ९ असार २०८३, मंगलवार ०७:४२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।