Logo

अर्थ

देवाही गोनाही नगरपालिकाद्वारा ४४ करोड ६८ लाखभन्दा बढीको बजेट प्रस्तुत : सामाजिक न्याय र पूर्वाधार विकासमा जोड



रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

‘समृद्ध देवाही गोनाही, सुशासन र दिगो विकास हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ नगरपालिकाले सामाजिक न्यायसहितको पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेर बजेट ल्याएको हो ।

प्रेमपुर गोनाहीस्थित नगर कार्यपालिकाको कार्यालयमा आयोजित १३ औँ नगर सभामा आगामी आर्थिक वर्षका लागि कुल ४४ करोड ६८ लाख ६५ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रेमलाल साहको अध्यक्षतामा सम्पन्न भएको उक्त नगर सभामा उपप्रमुख परनिया देवी पटेलको तर्फबाट वडा नं. ४ का वडा अध्यक्ष राम प्रवेश प्रसाद पटेलले बजेट, नीति तथा कार्यक्रम वाचन गरेर प्रस्तुत गरेका थिए ।

स्थानीय तहमा जनप्रतिनिधिहरूबीचको आपसी समन्वय र सहकार्यलाई प्रस्ट पार्दै बजेट वक्तव्यमार्फत नगरको आर्थिक तथा सामाजिक रूपान्तरणको खाका कोरिएको छ ।

बजेटले विशेष गरी शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधार क्षेत्रलाई समेटेको छ । विगतका वर्षहरूमा विभिन्न प्राविधिक तथा व्यावहारिक कारणले सुस्त रहेको विकास प्रक्रियालाई तीव्र गति दिने संकल्प बजेटमा गरिएको छ ।

यस वर्षको बजेटको अर्को महत्त्वपूर्ण पाटो भनेको स्थानीय बेरोजगार युवाहरूलाई लक्षित गरी रोजगारीका अवसरहरू सिर्जना गर्नु हो । सीपमूलक तालिम, उद्यमशीलता प्रवद्र्धन र स्थानीय स्रोत–साधनको अधिकतम परिचालनमार्फत युवा पलायनलाई रोक्ने र नगरभित्रै आर्थिक उपार्जनका बाटोहरू खोल्ने लक्ष्य बजेटले राखेको छ ।

आर्थिक, सामाजिक र भौतिक विकासको त्रिकोणात्मक सन्तुलन मिलाएर नगरको समग्र समृद्धि हासिल गर्नु नै यस बजेटको मूल उद्देश्य रहेको जनाइएको छ । नगर प्रमुख साहले सभालाई सम्बोधन गर्दै बजेटले नगरवासीको चाहना र आवश्यकतालाई गम्भीरतापूर्वक सम्बोधन गरेको दाबी गरे ।

लक्षित वर्गको उत्थान, लक्षित कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन र पारदर्शी कार्यशैली अपनाएर नगरमा सुशासन कायम गर्न कार्यपालिका प्रतिबद्ध रहेको उनले बताए । दिगो विकासका लक्ष्यहरूलाई आत्मसात् गर्दै चालिएका नयाँ कार्यक्रमहरूले देवाही गोनाही नगरपालिकालाई एक नमुना स्थानीय तहको रूपमा स्थापित गर्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलवार ०८:००   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।