काठमाडौं। सिन्धुपाल्चोक प्रहरीले ठूलो परिमाणमा अवैध रूपमा भित्र्याइएका विद्युतीय चुरोट (भेप) बरामद गरेको छ। जिल्लाको बाह्रबिसे नगरपालिका–३ खाग्दल क्षेत्रबाट ७ हजार ७०० वटा भेपसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बरामद गरिएका भेपको अनुमानित बजार मूल्य करिब २ करोड ६९ लाख ५० हजार रुपैयाँ रहेको छ। पक्राउ पर्ने व्यक्ति जुगल गाउँपालिका–४ निवासी ३६ वर्षीय रामुकुमार श्रेष्ठ हुन्।
विशेष सूचनाका आधारमा परिचालित इलाका प्रहरी कार्यालय बाह्रबिसेको टोलीले प्रदेश ३–०१–०२४ च ९२१९ नम्बरको बोलेरो गाडीमा अवैध सामान ओसारपसार भइरहेको अवस्थामा श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले बरामद भेप, सवारी साधन तथा पक्राउ परेका व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।




















प्रतिक्रिया