Logo

खेलकुद

जर्मनीलाई हराउँदै इक्वेडर विश्वकपको अन्तिम ३२ मा



काठमाडौं । फिफा विश्वकप २०२६ मा गोन्जालो प्लाटाले दोस्रो हाफमा गरेको निर्णायक गोलमा इक्वेडरले जर्मनीलाई २–१ ले पराजित गरेको छ ।

समूह ‘ई’ अन्तर्गत शुक्रबार न्यूयोर्क÷न्यु जर्सी स्टेडियममा भएको खेलमा इक्वेडरले उत्कृष्ट पुनरागमन गर्दै महत्त्वपूर्ण जित निकालेको हो ।

जित निकालेसँगै इक्वेडर फिफा विश्वकप २०२६ को नकआउट चरणमा पुगेको छ ।

पहिलेका दुई खेल जितेर नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको जर्मनीले खेलको दोस्रो मिनेटमै अग्रता लियो । फ्लोरियन भिट्र्सको पासमा लिरोय सानेले बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भयो । सन् १९३४ यता विश्वकपमा जर्मनीले गरेको यो सबैभन्दा छिटो गोल बन्यो ।

तर जर्मनीको अग्रता लामो समय टिकेन । खेलको नवौँ मिनेटमा पाब्लो भिटेले जर्मनीको क्षेत्रमा बल नियन्त्रण गर्दै निल्सन आङ्गुलोलाई पास दिए ।

बक्सबाहिरबाट आङ्गुलोले गरेको शक्तिशाली प्रहार अलेक्जान्डर पाभ्लोभिचको खुट्टाबीचबाट हुँदै गोलरक्षक म्यानुअल नोयरलाई बिट गर्दै गोलमा परिणत भयो । यो विश्वकप २०२६ मा इक्वेडरको पहिलो गोल पनि थियो ।

दोस्रो हाफको सुरुआतमा जर्मनीले पेनाल्टी पाएको थियो । तर भिएआर समीक्षा पछि लिरोय सानेले त्यसअघि नै फाउल गरेको देखिएपछि रेफ्रीले पेनाल्टी निर्णय उल्ट्याइन् ।

खेलको ७७औँ मिनेटमा इक्वेडरले विजयी गोल गर्यो । कर्नरबाट आएको बललाई केभिन रोड्रिगेजले हेडमार्फत अगाडि बढाइदिएपछि गोन्जालो प्लाटाले म्यानुअल नोयरभन्दा एक कदम अघि पुग्दै नजिकैबाट गोल गरे ।

यो जितसँगै इक्वेडर ४ अंकसहित उत्कृष्ट ८ तेस्रो स्थानमा रहने टोलीमध्ये एक बन्दै अन्तिम ३२ मा प्रवेश गरेको छ ।

पराजित भए पनि जर्मनी गोल अन्तरमा आइभरी कोस्टभन्दा अगाडि रहँदै समूह विजेता बनेको छ । दुवै टोलीको समान ६ अंक रहे पनि जर्मनीको गोल अन्तर उत्कृष्ट रहेको छ । समूहको अर्को खेलमा आइभरी कोस्टले कुरासाओलाई २–० ले हराएको छ ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार ०७:२४   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।