रौतहट । रौतहटको गढिमाई नगरपालिकामा नदीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । गढिमाई नगरपालिका वडा नम्बर १ हरैया घाट स्थित बागमती नदीमा तैरिरहेको दाउरा निकाल्ने क्रममा डुबेर स्थानीय दुई बालकको ज्यान गएको हो ।
मृत्यु हुनेहरूमा सोही स्थानमा बस्ने वर्ष ८ का आदित्य यादव र वर्ष ८ कै अनिकेस यादव रहेका छन् । नदीले बगाएर ल्याएको दाउरा संकलन गर्ने क्रममा दुवै जना अचानक गहिरो पानीमा डुबेर बेपत्ता भएका थिए ।
बालकहरू नदीमा डुबेर बेपत्ता भएको खबर स्थानीयवासीले गरेलगत्तै उद्धार र खोजतलासका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको थियो । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस समनपुर र नेपाल प्रहरीको संयुक्त टोली तत्कालै घटनास्थलमा पुगेर खोजी कार्य सुरु गरेको थियो ।
नदीको विभिन्न सम्भावित स्थानहरूमा व्यापक खोततलास गर्ने क्रममा दुवै बालक मृत अवस्थामा फेला परेका हुन् । संयुक्त टोलीले दिउँसो ३ः०५ बजे अनिकेस यादव र त्यसको केही समयपछि ३ः५० बजे आदित्य यादवको शव नदीबाट बाहिर निकालेको थियो ।
एकै गाउँका दुई अबोध बालकको नदीमा डुबेर असामयिक निधन भएपछि हरैया क्षेत्र र आसपासका स्थानीयवासी शोकमा डुबेका छन् ।
वर्षायाम सुरु भएसँगै नदी तथा खोलाहरूमा पानीको बहाव बढ्ने भएकाले आफ्ना बालबालिकाहरूलाई नदी किनारमा एक्लै जान नदिन र सचेत रहन स्थानीय प्रशासन तथा सुरक्षा निकायले आग्रह गरेको छ ।
मृतक बालकहरूको शवलाई कानुनी प्रक्रिया र प्राविधिक जाँचका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।




















प्रतिक्रिया