Logo

समाचार

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते



कपिलवस्तु ।कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएपछि पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक कैलालीको धनगढी उपमहानगरपालिका–१३ गेटाका ४२ वर्षीय हरीसिंह महरासहित २२ जना यात्रु घाइते भएका छन्।

घाइतेमध्ये बैतडी, डोटी, कैलाली, डडेलधुरा, बझाङ, चितवन र दार्चुलाका यात्रु रहेका छन्।अधिकांशको टाउको, हात, खुट्टा, छाती, कम्मर तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।

घाइतेहरुलाई जिल्ला अस्पताल तौलिहवामा प्राथमिक  उपचारपछि थप उपचारका लागि भैरहवास्थित मेडिकल कलेजमा रिफर गरिएको छ।

दुर्घटनापछि अन्य २४ यात्रुलाई अर्को सवारीसाधनमार्फत गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।  दुर्घटनापछि क्रेनको सहायताले बस हटाइएपछि हुलाकी सडकखण्डमा दुवैतर्फ सवारी सञ्चालन पुनः सुचारु भएको छ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलवार ०८:३१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।