Logo

समाचार

बाढीपहिरोका कारण मुख्य ६ राजमार्ग ठप्प, यातायात अवरुद्ध



काठमाडौं। देशभर मनसुन सक्रिय भएसँगै लगातार भइरहेको अविरल वर्षा, बाढीपहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग प्रभावित भएका छन्।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार आज बिहानसम्म विभिन्न सडक खण्डमा पूर्ण तथा आंशिक अवरोध कायम छ।

प्रहरीका अनुसार ६ वटा महत्त्वपूर्ण सडक खण्ड पूर्ण रूपमा ठप्प छन् भने केही राजमार्गमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ।

प्रहरीका अनुसार पूर्ण रूपमा  अवरुद्ध सडक खण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–१२ बिङ्गन क्षेत्रमा पहिरो खसेका कारण कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध छ। ललितपुरको बागमती गाउँपालिका–३ छम्पी र भट्टेडाँडा–हेटौंडा क्षेत्रमा पनि अविरल वर्षाका कारण सडक पूर्ण रूपमा बन्द रहेको छ।

काठमाडौं–नेपालथोक–कटुन्जे सडक खण्डमा नदीमा बाढीको उच्च जोखिम बढेका कारण सुरक्षाका लागि सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी क्षेत्रमा सडक मर्मत कार्य भइरहेकाले यो खण्ड पूर्ण रूपमा बन्द गरिएको छ। यो सडक करिब एक महिनासम्म बन्द रहने प्रहरीले जनाएको छ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित नेपाल(चीन जोड्ने मितेरी पुल मर्मत भइरहेकाले असार १७ गतेसम्मका लागि यो नाका पूर्ण रूपमा बन्द गरिएको छ।

बीपी राजमार्ग काभ्रे खण्ड काभ्रेको रोशी गाउँपालिका–११ कालढुंगा क्षेत्रमा बाढीका कारण सडक प्रभावित भए पनि हाल एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ। कोसी प्रदेशअन्तर्गत भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा बाढीका कारण मध्यपहाडी सडक एकतर्फी मात्र खुला छ।

मेची राजमार्गअन्तर्गत  इलाम नगरपालिका–९ राजदुवालीस्थित सडक खण्डमा पहिरो खसेपछि एकतर्फी रूपमा सञ्चालनमा छ।

सालझन्डी–ढोरपाटन सडकअन्तर्गत अर्घाखाँचीस्थित पाणिनी गाउँपालिका–२ दुड्खोला क्षेत्रमा पहिरो खसेपछि यो सडक खण्ड एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको छ।

बाढीपहिरोका कारण सडक जुनसुकै बेला अवरुद्ध हुन सक्ने भएकाले यात्रामा निस्कनुअघि अनिवार्य रूपमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन र सम्भव भएसम्म वैकल्पिक मार्गको प्रयोग गर्न प्रहरीले सर्वसाधारणमा अपिल गरेको छ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलवार ०९:१४   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।