काठमाडौं । नेपाली समुदायलाई लक्षित गर्दै तयार पारिएको डेटिङ तथा सम्बन्ध निर्माण प्लेटफर्म ‘लमी’ सार्वजनिक गरिएको छ।
आधुनिक जीवनशैलीका कारण उपयुक्त जीवनसाथी वा मित्र भेट्न कठिन बन्दै गएको अवस्थालाई ध्यानमा राख्दै विकसित गरिएको यो एपले मित्रता, डेटिङ र विवाहका लागि उपयुक्त जोडी खोज्न सहयोग गर्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ‘लमी’ केवल डेटिङ एप मात्र नभई नेपाली संस्कार, संस्कृति र मूल्य–मान्यतालाई आधुनिक प्रविधिसँग जोड्ने डिजिटल माध्यम हो। हालसम्म यस एप १० हजारभन्दा बढी पटक डाउनलोड भइसकेको कम्पनीले बताएको छ।
एपमार्फत् प्रयोगकर्ताले आफ्नो रुचि, उमेर, शिक्षा, धर्म, जात, वैवाहिक अवस्था, जीवनशैली तथा भविष्यका लक्ष्यका आधारमा आफूलाई उपयुक्त व्यक्ति खोज्न सक्ने व्यवस्था गरिएको छ।
कम्पनीले प्रयोग गरेको स्मार्ट म्याचिङ एल्गोरिदमले प्रयोगकर्ताको प्राथमिकताअनुसार मिल्दोजुल्दो प्रोफाइलहरू मात्र देखाउने जनाएको छ।
सुरक्षालाई विशेष प्राथमिकता दिँदै एपमा प्रोफाइल भेरिफिकेसन प्रणाली राखिएको छ। प्रयोगकर्ताले आफ्नो पहिचान पुष्टि गर्न आवश्यक कागजात अपलोड गर्नुपर्ने भएकाले नक्कली प्रोफाइल र दुरुपयोगको जोखिम कम हुने कम्पनीको दाबी छ।
साथै, गोपनीयतालाई ध्यानमा राखेर व्यक्तिगत विवरण सुरक्षित राख्ने व्यवस्था पनि गरिएको जनाइएको छ।
एपमा ‘लेफ्ट स्वाइप’ भएर छुटेका प्रोफाइल पुनः हेर्न सकिने रिवाइन्ड सुविधा प्रिमियम प्रयोगकर्ताका लागि उपलब्ध छ। त्यसैगरी मन परेका प्रोफाइललाई बुकमार्क गरेर पछि हेर्न सकिने सुविधा पनि समावेश गरिएको छ।
‘लमी’ले विभिन्न प्रिमियम सदस्यता योजना पनि ल्याएको छ। एक साताको सदस्यताका लागि १९९ रुपैयाँ, एक महिनाका लागि ६९९ रुपैयाँ र तीन महिनाका लागि १ हजार ९९९ रुपैयाँ शुल्क निर्धारण गरिएको कम्पनीले जनाएको छ।
एपका प्रबन्ध निर्देशक नबिन श्रेष्ठका अनुसार विगतमा विवाहका लागि ‘लमी’ अर्थात् मध्यस्थकर्ताले महत्वपूर्ण भूमिका खेल्ने गर्थे।
बदलिँदो समयसँगै अहिलेको पुस्ता आफैंले बुझेर र रोजेको व्यक्तिसँग सम्बन्ध बनाउन चाहने भएकाले सोही आवश्यकतालाई सम्बोधन गर्न यो एप विकास गरिएको हो।
उनका अनुसार संसारभर रहेका नेपालीहरूलाई सुरक्षित र विश्वासिलो माध्यमबाट जोड्ने उद्देश्य ‘लमी’को रहेको छ।
कम्पनीका अनुसार एप फोन नम्बर, इमेल वा विभिन्न सामाजिक सञ्जालमार्फत सहजै लगइन गरेर प्रयोग गर्न सकिन्छ।
सुरक्षा, गोपनीयता र नेपाली मौलिकतालाई प्राथमिकतामा राख्दै अर्थपूर्ण सम्बन्ध निर्माणमा सहयोग पुर्याउने उद्देश्यका साथ ‘लमी’ सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।





















प्रतिक्रिया