काठमाडौं । प्रभु मेनेजमेन्टको नाम रहेको संस्थापक शेयर समेत लिलामीमा राखिदिएपछि देशभरका सयौँ सहकारी तथा बचतकर्ताको अर्बौँ रकम फिर्ता पाउने सम्भावना थप अन्यौलमा परेको छ ।
नेतृत्वको मिलेमतोमा प्रभु बैंक लिमिटेडले नियमितविपरीत आफ्नो कब्जामा राखेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीका लागि सूचना जारी गर्दै लिलाम बिक्री प्रक्रिया अघि बढाएपछि सहकारीका बचतकर्ताले प्रभु मेनेजमेन्टबाट रकम फिर्ता पाउने बाटो लगभग सकिएको गुनासो गरेका छन्।
प्रभु बैंकले नियमविपरीत प्रभु मेनेजमेन्टको नाममा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर कब्जा गरी लिलाम प्रक्रियामा अघि बढाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) , नेपाल सरकारको मातहतको हेल्लो सरकार र धितोपत्र बोर्डमा एकसाथ उजुरी दर्ता भएसँगै बैंक र इन्स्योरेन्सको मिलेमतोको समेत पर्दाफास भएको छ ।
केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) लगायतका अनुसन्धानात्मक निकायमा सहकारी पीडितले दिएको उजुरीमा प्रभु ग्रुप अन्तर्गतको प्रभु मनी ट्रान्सफरले देशभरका विभिन्न सहकारी संस्थालाई प्रभु म्यानेजमेन्ट प्रालिमार्फत् एजेन्ट बनाई सहकारी संस्थाबाटै संकलित रकमबाट प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको झन्डै ८ लाख कित्ता संस्थापक शेयर प्रभु मेनेजमेन्टले खरिद गरेको उल्लेख गरिएको उल्लेख छ । हकप्रद तथा बोनस शेयरसमेत गरी सो शेयर हाल झन्डै ९ लाख कित्ताको हाराहारीमा पुगेको बैंकद्वारा जारी लिलामी सूचनामै उल्लेख छ । उक्त शेयर प्रभु बैंकले २०८३ जेठ १७ गते राजधानी दैनिकमा सूचना निकालेर लिलामीमा राखिसकेको छ ।

प्रभु बैंकले प्रभु म्यानेजमेन्टले लिएको ऋणमा उक्त शेयर धितो रहेकाले लिलामीको प्रक्रिया मार्फत् बैंकको ऋण उठाउन लागेको बताएको छ भने इन्स्योरेन्सले उक्त शेयर रोक्का राख्न पत्राचार भएपछि रोक्का गरिएको दावी गरेको छ।
यधपि शेयर रोक्का राखिएको समय भन्दा अगाडि नै बैंकबाट नियमविपरी बिनाधितो प्रभु मेनेजमेन्टका नाममा ऋण प्रवाह भएको बिषयमा भने आँफु जानकार भएको सीइओ सन्तोष प्रसाईले स्वीकार गरेका छन्।
प्राप्त प्रमाणअनुसार पनि प्रभु बैंकले प्रभु म्यानेजमेन्ट प्रालिको नाममा ऋण उपलब्ध गराएको बर्षौंपछि मात्र मेनेजमेन्टको नामना रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयर बैंकले रोक्का गरेको छ। यसबाट प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीइओको नियत र भूमिकामाथि नै गम्भीर प्रश्न खडा भएको छ।
यस सम्बन्धमा प्रभु बैंकले बिनाधितो प्रवाह गरेको ऋण उठाउनकै लागि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीइओ प्रसाईले अख्तियारको दुरुपयोग गरी प्रभु मेनेजमेन्टका नाममा रहेको शेयर रोक्का गर्न बैंकलाई सहयोग गरी नियमविपरीत लिलामी समेत गरिदिएको आरोप शहकारी पिडित तथा प्रभु मेनेजमेन्ट साचालक स्वयम्को छ।
सहकारी पिडितद्वारा दायर उजुरीमा प्रभु बैंक- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख संस्थापक शेयरधनी भएको र बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा सञ्चालक समितिले नेपाल राष्ट्र बैंक ऐन, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, धितोपत्र सम्बन्धी ऐन तथा प्रचलित कानुनविपरीत उक्त शेयरलाई धितोका रूपमा स्वीकार गरेको आरोप लगाइएको छ ।
त्यस्तै, संस्थाको नाममा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयरमा सयौँ सहकारी संस्थाहरूको हक दावी भएको उजुरीमा उल्लेख छ । उजुर्कर्ताले बैंकले नियमविपरित गरेको लिलामीबाट सहकारी तथा तिनमा आवद्द बचतकर्ताहरुको अधिकार हनन हुने भएकाले लिलाम प्रक्रिया तत्काल रोकी नियमविपरीत कर्जा प्रवाह गर्ने, शेयर रोक्का गर्ने तथा यस अवैधानिक कार्यमा सधाउने हरुमाथि अनुसन्धान गरी आवश्यक कारबाही गर्न माग गरेका छन् ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख संस्थापक शेयरधनी अर्थात् प्रभु बैंकलाई सघाउ पुर्याउने नियत राखी सीईओ प्रसाईले आफ्नो नामको शेयर रोक्का गरिदिएको भन्दै प्रभु म्यानेजमेन्ट स्वयम्ले पनि सीआईबीमा जाहेरी दिएको छ । आफ्नो संस्थाको रकम अपचलन भएको भन्दै जाहेरी दिएपछि सोहि आधारमा लाजिम्पाट अपार्टमेन्टका सञ्चालक राजेन्द्र शाक्य तथा दिव्य सेक्युरिटिज ब्रोकरेज कम्पनीका सञ्चालक राम आचार्यसँग पनि सीआईबीले बयान लिएको बताइएको छ ।
सीआईबी, धितोपत्र बोर्ड र अन्य सम्बन्धित निकायमा उजुरी परेपछि बैंक, इन्स्योरेन्स र प्रभु मेनेजमेन्टबीच भएको भनिएको वित्तीय कारोबार सम्झौता तथा शेयर धितो बन्धक तथा लिलामी प्रक्रियाको वैधानिकतामाथि समेत प्रश्न उठाईएको छ भने सम्बन्धित संस्थाका नेतृत्वमाथि पनि अनुसन्धान गरि कारबाहीको दायरामा ल्याउनुपर्ने माग पीडित हरुको छ।

प्रभु मेनेजमेन्टले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा गैर कानुनी रूपमा भइरहेको सेयर लिलामी प्रक्रिया रोक्का गरी छानबिन गरिपाऊँ भन्दै उजुरी दिएको छ।
उजुरीमा भनिएको छ,- ‘ प्रभु बैंक लिमिटेडद्वारा अगाडि बढाइएको सेयर लिलामी प्रक्रियामा गम्भीर कानुनी त्रुटिहरु भएका छन्। जसमा प्रभु बैंक लिमिटेडले मिति २०८३/०१/१७ गतेको राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरेको ‘प्रभु म्यानेजमेन्ट प्रा.लि. ‘को नाममा रहेको प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामीसम्बन्धी सूचना प्रचलित कानुन, धितोपत्र दर्ता तथा निष्कासन नियमावली र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थासम्बन्धी नियमन विपरीत छ।’
प्रभु मेनेजमेन्टले आफ्नो स्वामित्वमा रहेको प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको शेयर मनपरी रोक्का गरिएको दावी गर्दै उक्त शेयर धितो कर्जा प्रवाहमा बैंकिङ कसूर भएको आशंका समेत व्यक्त गरेको छ।
‘प्रभु म्यानेजमेन्टलाई कर्जा प्रवाह गर्दा बैंकले पर्याप्त तथा वैधानिक धितो नलिई भविष्यमा ‘लकिङ्ग पिरियड’ समाप्त भएपछि प्राप्त हुने सेयरको मौखिक वा कागजमा आधारित प्रतिबद्धता (उधारो धितो) का आधारमा कर्जा प्रवाह गरेको देखिन्छ। बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनको बर्खिलाप हुने गरी यस प्रकारको कर्जा प्रवाह हुनु बैंकिङ कसूर र सजाय ऐनको गम्भीर उल्लंघन हो।” उजुरीमा भनिएको छ।





















प्रतिक्रिया