Logo

समाचार

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त



काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा सहरी योजनाविद् किशोर थापा नियुक्त भएका छन्।

त्रिविका कुलपति तथा प्रधानमन्त्री बालेन्द्र शाहले थापालाई आयोगको अध्यक्षमा नियुक्त गरेका हुन्। आयोगको सदस्यमा प्रा. डा. रेजिना मास्के नियुक्त भएकी छन्।

विश्वविद्यालय स्रोतका अनुसार सेवा आयोगलाई थप प्रभावकारी, पारदर्शी र योग्य जनशक्ति व्यवस्थापनमुखी बनाउने उद्देश्यले दुवै नियुक्ति गरिएको हो।

शिक्षा तथा खेलकुदमन्त्री तथा त्रिविका सहकुलपति सस्मित पोखरेलको नेतृत्वमा गठित अध्यक्ष सिफारिस समितिले अध्यक्ष पदका लागि प्राप्त आवेदनको अध्ययन, मूल्याङ्कन र अन्तर्वार्तापछि तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा थापालाई अध्यक्ष नियुक्त गरिएको हो।

समितिले गत जेठमा अध्यक्ष पदका लागि इच्छुक योग्य व्यक्तिबाट आवेदन माग गरेको थियो। प्राप्त आवेदनहरूको योग्यता, अनुभव, नेतृत्व क्षमता र कार्यसम्पादनको मूल्याङ्कनपछि योग्य उम्मेदवारहरूको नाम सिफारिस गरिएको विश्वविद्यालयले जनाएको छ।

आर्किटेक्ट तथा सहरी योजनाविद्का रूपमा परिचित थापाले नेपाल सरकारको निजामती सेवामा चार दशकभन्दा बढी समय विभिन्न जिम्मेवारी सम्हालेका छन्।

उनले सहरी विकास, शिक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका साथै जल तथा ऊर्जा आयोग सचिवालयमा सचिवका रूपमा काम गरेका थिए।

 

प्रकाशित मिति : १७ असार २०८३, बुधबार २०:१२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।