Logo

राजनीति

भन्सार र राजस्वका प्रमुखलाई अर्थमन्त्रीको निर्देशन : ‘मिसन १६ खर्ब’ सफल बनाउन चुहावट रोक्नुस्



काठमाडौं ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भन्सार विभाग र आन्तरिक राजस्व विभागका नवनियुक्त नेतृत्वलाई राजस्व संकलनको लक्ष्य पूरा गर्न इमानदारी, पारदर्शिता र प्रभावकारी कार्यसम्पादनमा केन्द्रित हुन निर्देशन दिएका छन्।

मंगलबार अर्थ मन्त्रालयमा भन्सार विभागका महानिर्देशक यमलाल भुसाल, आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसाल तथा भन्सार विभागका उपमहानिर्देशक प्रेमप्रसाद आचार्यसँग भेट गर्दै उनले ‘मिसन १६ खर्ब’ अन्तर्गतको राजस्व लक्ष्य हासिल गर्न चुहावट नियन्त्रण, स्वैच्छिक कर दाखिला वृद्धि र करदातामैत्री वातावरण निर्माणमा जोड दिएका हुन्।

‘व्यावसायिक वातावरण र मनोबल उच्च राख्दै राजस्व लक्ष्य भेटिने गरी इमानदारीपूर्वक काम गर्नुस्,’ मन्त्री वाग्लेले भने, ‘चुहावट रोक्न, स्वैच्छिक कर दाखिला बढाउन र कर तिर्न प्रोत्साहन गर्न मन्त्रालयबाट आवश्यक सबै सहयोग उपलब्ध हुनेछ।’

उनले भन्सार र कर प्रशासनलाई सूचना प्रविधिमैत्री, पारदर्शी र थप प्रभावकारी बनाउन पनि निर्देशन दिए। राजस्व प्रणाली सुदृढ हुँदा मुलुकको आन्तरिक आय बढ्ने, बाह्य ऋणमा निर्भरता घट्ने र आफ्नै स्रोतमा आधारित विकासलाई गति दिन सकिने उनको भनाइ थियो।

मन्त्री वाग्लेले राजस्व लक्ष्य हासिल गर्ने क्रममा व्यवसायमैत्री वातावरण कायम राख्दै प्रणालीभित्रका कमजोरी र चुहावट नियन्त्रणलाई प्राथमिकता दिनुपर्ने बताए।

साथै मातहतका कार्यालयमा अनियमिततामा संलग्न कर्मचारीमाथि कडा कारबाही गर्न र इमानदारीपूर्वक काम गर्ने कर्मचारीलाई पुरस्कार तथा प्रोत्साहनको व्यवस्था गरिने जानकारी पनि दिए।

प्रशासनिक दक्षता र कार्यसम्पादनका आधारमा अब्बल मानिएका सहसचिवहरूलाई राजस्व प्रशासनको नेतृत्वमा ल्याइएको उल्लेख गर्दै उनले आगामी ६ देखि ८ महिनाभित्रै सुधारका ठोस नतिजा देखिने विश्वास व्यक्त गरे।

मन्त्रिपरिषद्को असार १८ गतेको निर्णयअनुसार सहसचिव यमलाल भुसाल, डा. भीष्मकुमार भुसाल र प्रेमप्रसाद आचार्यलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको थियो।

असार २२ गते मन्त्रालयमा हाजिर भएपछि उनीहरूलाई क्रमशः भन्सार विभागको महानिर्देशक, आन्तरिक राजस्व विभागको महानिर्देशक र भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको हो।

नयाँ जिम्मेवारी सम्हालेका तीनै अधिकारीले मन्त्रीबाट प्राप्त निर्देशन इमानदारीपूर्वक कार्यान्वयन गर्दै राजस्व संकलनको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको बताएका छन्।

प्रकाशित मिति : २३ असार २०८३, मंगलवार २१:१२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।