Logo

अन्तर्राष्ट्रिय

बेलायती प्रधानमन्त्रीद्वारा आयरल्यान्डसँगको सीमा कडाइ गर्ने घोषणा



बेलायती प्रधानमन्त्री थेरेसा मेले उत्तरी आयरल्यान्डका व्यापारिक नेताहरूलाई सम्बोधन गर्दै युरोपेली युनियन (ईयू)बाट अलग्गिने (ब्रेक्जिट) गरी यसअघि भएको सम्झौतामा परिमार्जन गर्न चाहेको बताएकी छिन् । प्रधानमन्त्री मेले सम्झौतामा सबैभन्दा विवादास्पद मानिएको ईयू–आइरिस सीमालाई केही समय खुला गर्नेसम्बन्धी प्रावधानलाई पूर्ण रूपमा हटाउन आफूले पहल गर्ने बताइन् ।

भन्सार कार्यालय र सवारी जाँच चौकी पुनः राख्न लागिएको भन्ने सम्बन्धमा प्रकाश पार्दै प्रधानमन्त्री मेले बेलायत सरकार ईयूको सदस्य राष्ट्र आयरल्यान्ड र बेलायतको उत्तरी आयरल्यान्डबीच भौतिक सीमाको पक्षमा नरहेको बताइन् । उत्तरी आयरल्यान्डको बेल्फास्ट भ्रमणमा रहेकी प्रधानमन्त्री मेले उत्तरी आयरल्यान्ड र आयरल्यान्डबीचको सीमामा कडा प्रावधानहरू नराख्ने तर सीमा व्यवस्था नयाँ ढंगबाट गर्नुपर्ने बताइन् ।

उनले सन् १९९८ मा सम्पन्न सुखद शुक्रबार (गुड फ्राइडे) सम्झौताप्रति बेलायत सरकारको पूर्ण समर्थन रहेकामा समेत जोड दिइन् । उक्त सम्झौताकै कारण उत्तरी आयरल्यान्डमा एक दशकभन्दा बढी चलेको हिंसात्मक घटना साम्य भएको थियो ।

प्रधानमन्त्री मेका प्रतिबद्धताका शब्दले पनि ब्रेक्जिट सीमाका द्विविधालाई समाधान गर्न कठिन छ । बेलायतले आगामी मार्च २९ मा ईयू छाड्दै छ, तर बहिर्गमन सम्झौता बेलायती संसदबाट स्वीकृत भएको छैन । बेलायती संसदले प्रधानमन्त्री मेको यसअघिको प्रस्तावलाई गत महिना भारी बहुमतले अस्वीकृत गरेको थियो ।

आयरल्यान्ड र उत्तरी आयरल्यान्डको सीमाको व्यवस्थापनका विषयमा बेलायती संसदमा अझै मतैक्य हुन सकेको छैन । यही सीमा विवादका कारण दशकौँसम्म हिंसात्मक घटनाहरू भएका थिए, जसका कारण तीन हजार ७०० भन्दा बढीको ज्यान गएको थियो ।

आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीचको खुला सिमानाका कारण मानिस र वस्तुको निर्वाध आवतजावत हुने गरेको छ । तर, धेरैजसो ब्रेक्जिट पक्षधर बेलायती सांसदहरू केही निश्चित समयसम्म यो सीमा खुला गर्दा ईयूका नियमहरूले बेलायतमाथि समस्या निम्त्याउने बताउँछन् । उनीहरू ब्रेक्जिट सम्झौता हुनुअघि आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीचको सीमा बन्द गर्नैपर्नेमा जोड दिन्छन् । तर, युरोपेली नेताहरू प्रधानमन्त्री मेले ईयूसँग गरेको सहमतिमा पुनर्विचार गर्न नसकिने बताउँछन् ।

‘ईयूसँग भएको बहिर्गमन सम्झौता बेलायतका निम्ति ईयूबाट बिस्तारै बाहिरिनका लागि राम्रो सम्झौता हो,’ आइरिस प्रधानमन्त्री लिओ भाराड्करले बताए, ‘हामी ईयू र बेलायतसँगको भावी सम्बन्धलाई अति निकट, व्यापक र महत्वाकांक्षी बनाउन चाहन्छौँ, ता कि आउँदा दिनमा सीमा बन्द गर्न यस्तो समयसीमा कहिल्यै आवश्यक नै पर्नेछैन ।’

तैपनि, प्रधानमन्त्री मेले युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्कर र अरू युरोपेली नेताहरूसँग ब्रसेल्समा बिहीबार भेट गर्दै छन् । उनले आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीचको सीमालाई केही समय खुला गर्ने यसअघिको प्रस्तावलाई हटाउन आग्रह गर्ने बताइएको छ । प्रधानमन्त्री मेले युरोपेली नेताहरूसँग छलफल गरी संशोधित प्रस्ताव अर्को साता बेलायती संसदमा प्रस्तुत गर्नेछिन् ।

प्रकाशित मिति : माघ २३, २०७५ बुधबार  ९ : ५८ बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।