काठमाडौं । साविक विजेता अर्जेन्टिनाले रोमाञ्चक पुनरागमन गर्दै इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको छ। दोस्रो हाफमा एक गोलले पछि परेको अवस्थामा खेलको अन्तिम समयमा लगातार दुई गोल गर्दै अर्जेन्टिनाले उपाधि रक्षा गर्ने यात्रालाई निरन्तरता दिएको हो।
एटलान्टामा सम्पन्न दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डले दोस्रो हाफमा अग्रता लिएपछि अर्जेन्टिना दबाबमा परेको थियो। तर खेलको ८५औँ मिनेटमा एन्जो फर्नान्डेजले बराबरी गोल फर्काउँदै टोलीलाई खेलमा पुनरागमन गराए। त्यसपछि इन्जुरी समयमा लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई २–१ को रोमाञ्चक जित दिलाए।
जितसँगै साविक विजेता अर्जेन्टिनाले लगातार दोस्रो पटक विश्वकपको फाइनल यात्रा तय गरेको छ। अब उसले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। स्पेनले पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
यता पराजित इंग्ल्याण्डले तेस्रो स्थानका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। विश्व फुटबलका दुई शक्तिशाली टोली अर्जेन्टिना र स्पेनबीचको उपाधि भिडन्तले विश्वभरका फुटबल समर्थकको ध्यान तानेको छ।




















प्रतिक्रिया