Logo

अर्थ

सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र असोजभित्र नवीकरण गर्नुपर्ने



काठमाडौं । वृद्ध भत्तासहित सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले असोज मसान्तभित्र सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्नुपर्ने भएको छ।

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सूचना जारी गर्दै सामाजिक सुरक्षा भत्ता पाउन योग्य लाभग्राहीको सूचीकरण तथा नवीकरण गर्न आग्रह गरेको हो।

सूचनाअनुसार सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ को नियम ९ बमोजिम सबै लाभग्राहीले आफ्नो सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्नुपर्नेछ।

नवीकरणका लागि लाभग्राहीहरूले आ–आफ्नो वडा कार्यालयमा स्वयं उपस्थित भई जैविक पहिचानका आधारमा नवीकरण गराउनसक्ने भनिएको छ । अस्थायी बसोबास रहेको भए बसोबास रहेकै वडा कार्यालयबाट समेत नवीकरण गराउन सकिने सूचनामा उल्लेख छ ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको नविकरण गर्दा राष्ट्रिय परिचय नम्बरका आधारमा जैविक पहिचान मार्फत गर्नु गराउनुपर्ने व्यवस्था छ ।

तर, सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०८२ को दफा ५ बमोजिम १६ वर्ष उमेर पूरा नभएको बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने अशक्त र ९० वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राहीमा सूचीकृत हुन राष्ट्रिय परिचय नम्बर अनिवार्य हुने छैन ।

सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने समय असोज मसान्त सम्म रहेको भन्दै मन्त्रालयले वडा कार्यालयमा भिडभाड कम गरी नवीकरण कार्य व्यवस्थित गर्न पनि भनेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आईतवार १९:०४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।