Logo

प्रमुख समाचार

वाईडबडी काण्ड : “कहाँ सेलाउनु, अस्ति काँधमा बोकेर हिँडेको देखेको थिएँ, जिउँदै छ”



सरकारका प्रवक्ता गोकुल बाँस्कोटालाई बिहिबारको नियमित पत्रकार सम्मेलनमा एक पत्रकारले सोधे – मन्त्रीज्यू, वाइड बडी प्रकरण सेलायो?सिधा जवाफ दिने मन्त्री बाँस्कोटाले जवाफ फर्काए – ‘कहाँ सेलाउनु। हिजो अस्ति सडकमा काँधमा बोकेर हिँडैको देखेको थिएँ। हराएको छैन।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारविरूद्ध प्रदर्शनका क्रममा कागजको वाइड बडी विमान बनाएर विरोध गरेको थियो।बाँस्कोटाले सोही विरोध प्रदर्शनलाई जोड्दै पत्रकार सम्मेलनमा जवाफ फर्काएका हुन्।

नेपाल एयरलाइन्सका लागि दुई वाइड बडी खरिद गर्दा अनियमितता भएको रिपोर्ट संसदको सार्वजनिक लेखा समितिले दिएको थियो।रिपोर्टपछि सरकारले छानबिनका लागि न्यायिक समिति गठन गरेको छ।

तर, समितिले अहिलेसम्म काम अगाडि बढाउन सकेको छैन। पत्रकार सम्मेलनमा पत्रकारले समितिका सदस्यहरूले काम गर्न नसकेको विषय समेत बाँस्कोटालाई सोधेका थिए।बाँस्कोटाले ‘काम गर्न नभ्याएको होला’ भन्दै जवाफ फर्काए।

‘यसको छानबिनको प्रक्रिया जारी रहन्छ। जे सत्य तथ्य हो समितिले लिएर आउँछ’, बाँस्कोटाले भने, ‘समितिका सदस्यले काम गर्न नभ्याएको भन्ने जानकारी गराएको छैन। कामै गर्न नसक्ने परिबन्ध वा नभ्याउने रह्यो भने कसरी गर्नुपर्छ हामी प्रक्रिया अगाडि बढाउँछौं।’

प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार  १२ : १८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।