काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब ११ अर्बको वैदेशिक व्यापार भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो वैदेशिक व्यापार करिब १६ प्रतिशतले धेरै हो ।
गत आर्थिक वर्षको वैदेशिक व्यापार हालसम्मकै उच्च हो । यसअघि आव २०७८/७९ मा सर्वाधिक वैदेशिक व्यापार भएको थियो । आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक व्यापार आकार २० खर्ब ८१ अर्ब रुपैयाँको थियो ।
गत आर्थिक वर्षको वैदेशिक व्यापारसँगै निर्यात पनि अघिल्ला वर्षहरूको तुलनामा उच्च हो । यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा नेपालको निर्यातमा पनि १३.८१ प्रतिशतको सुधार आएको छ। गत वर्ष नेपालबाट ३ खर्ब १५ अर्ब २९ करोड ४ लाख ७४ हजार ५ सय रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जुन अघिल्लो वर्ष २ खर्ब ७७ अर्ब ३ करोड २ लाख २ हजार रुपैयाँ थियो ।
आयात र निर्यात दुवै वृद्धि भए पनि आयातको हिस्सा ठुलो भएका कारण व्यापार घाटा बढेको तथ्यांकले देखाउँछ ।
कुल वैदेशिक व्यापार घाटा अघिल्लो वर्षको तुलनामा १६.६३ प्रतिशतले बढेको छ । २०८२ साउनदेखि २०८३ असार मसान्तसम्मको वार्षिक तथ्यांकअनुसार नेपालको कुल व्यापार घाटा १७ खर्ब ८१ अर्ब ८ करोड ८५ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो घाटा १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख ३० हजार रुपैयाँ रहेको थियो ।
तथ्यांकअनुसार आयात र निर्यातको अनुपातमा पनि सामान्य वृद्धि भएको छ । अघिल्लो वर्ष ६.५१ रहेको यो अनुपात गत आर्थिक वर्षमा २.१० प्रतिशतले बढेर ६.६५ पुगेको छ । यसको अर्थ नेपालले १ रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसा बराबरको वस्तु आयात गर्ने गर्दछ ।
यसैगरी, कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १.७९ प्रतिशतले खुम्चिएर १३.०७ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्ष १३.३१ प्रतिशत थियो । अर्कोतर्फ, कुल व्यापारमा आयातको हिस्सा भने सामान्य (०.२७ प्रतिशत) वृद्धि भई ८६.९३ प्रतिशत पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षमा ८६.६९ प्रतिशत रहेको थियो ।



















प्रतिक्रिया