काठमाडौं। केही वर्षअघिसम्म कैलालीको मोतीपुरस्थित राष्ट्रिय नवजागृति माध्यमिक विद्यालयका विद्यार्थी तिर्खा लागेपछि विद्यालयबाहिर जान बाध्य हुन्थे। कतिले घरबाटै पानी बोकेर ल्याउँथे भने कतिपयले बजारबाट किनेर पिउँथे। शुद्ध खानेपानीको अभावले पढाइ मात्र होइन, विद्यार्थीको स्वास्थ्य पनि प्रभावित हुने गरेको थियो।
आज त्यही विद्यालयमा सुरक्षित खानेपानी सहज रूपमा उपलब्ध छ। प्रधानाध्यापक गौरीकुमारी कुँवरका अनुसार यसको प्रत्यक्ष प्रभाव विद्यार्थीको स्वास्थ्य, नियमित उपस्थितिसँगै अभिभावकको विश्वासमा समेत परेको छ।
“पहिले शुद्ध खानेपानीको व्यवस्था गर्न नसक्दा अभिभावक चिन्तित हुनुहुन्थ्यो। अहिले विद्यालयमै सुरक्षित पानी उपलब्ध भएपछि विद्यार्थीको स्वास्थ्यमा सुधार आएको छ,” उनी भन्छिन्।
कक्षा १० मा अध्ययनरत स्मृति अधिकारी पनि विद्यालयको परिवर्तनलाई आफ्नै अनुभवसँग जोड्छिन्। “पहिले घरबाट पानी बोकेर आउनुपर्थ्यो। अहिले विद्यालयमै पिउने पानी पाइन्छ, धेरै सहज भएको छ,” उनले भनिन्।
यो एउटा विद्यालयको मात्र कथा होइन। नबिल बैंकले सञ्चालन गरेको ‘नबिल स्वच्छ खानेपानी अभियान’ अन्तर्गत सातै प्रदेशका १८५ विद्यालयका करिब एक लाख ५० हजार विद्यार्थी अहिले स्वच्छ पिउने पानीको पहुँचमा पुगेका छन्।
यसैगरी बैंकको ‘नबिल सिक्योरिङ हेल्थ एन्ड इम्पावरमेन्ट (एसएचई)’ परियोजनामार्फत ३५२ विद्यालयका एक लाख ७० हजारभन्दा बढी छात्राले महिनावारी स्वास्थ्यसम्बन्धी सुविधा र सचेतना प्राप्त गरेका छन्। विद्यालयमा सेनेटरी प्याड भेन्डिङ मेसिन, स्वास्थ्य शिक्षा तथा छात्रामैत्री वातावरण निर्माणले धेरै विद्यालयमा छात्राको नियमित उपस्थितिमा सकारात्मक प्रभाव परेको बैंकले जनाएको छ।
तथ्यांकभन्दा ठूलो परिवर्तन
संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) प्रायः आर्थिक सहयोग वा चेक हस्तान्तरणमा सीमित हुने गरेको छ। तर पछिल्ला वर्षहरूमा केही सार्वजनिक तथा निजी संस्थाले समुदायसँग प्रत्यक्ष जोडिने दीर्घकालीन कार्यक्रम सञ्चालन गर्न थालेका छन्।
नबिल बैंकले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका ७० भन्दा बढी सामाजिक कार्यक्रमबाट सातै प्रदेशका चार लाख २९ हजार ९८८ भन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित भएको जनाएको छ। शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, महिला सशक्तीकरण, उद्यमशीलता, वातावरण संरक्षण र विपद् व्यवस्थापनका क्षेत्रमा कार्यक्रम सञ्चालन गरिएको बैंकको भनाइ छ।
उद्यम सिकेपछि बदलियो व्यवसाय
संखुवासभाकी सुजना कुलुङ परम्परागत रूपमा अल्लोको कपडा बनाउँथिन्। सीप थियो, तर व्यवसाय विस्तार गर्ने स्पष्ट योजना थिएन।
नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसईई) मा सहभागी भएपछि उनले बजार, ब्रान्डिङ र व्यवसाय विस्तारका नयाँ पक्ष सिकिन्।
“पहिले सानो सामुदायिक पसलजस्तो मात्रै थियो। तालिमपछि व्यवसायलाई फरक ढंगले हेर्न सिकें। अहिले ‘बिजनेस टु बिजनेस’ मोडलमा काम गरिरहेकी छु,” सुजना भन्छिन्।
बैंकका अनुसार नबिल एसईईमार्फत हालसम्म एक हजार ५८२ युवाले उद्यमशीलता तालिम लिएका छन्। त्यसबाट २४७ भन्दा बढी सामाजिक उद्यम स्थापना भएका छन् भने १८ हजार ८४७ भन्दा बढी रोजगारी सिर्जना भएका छन्।
उपचारको खर्चले रोकेको जीवन
कञ्चनपुरका भरत लुहारका लागि जलनको घाउभन्दा ठूलो पीडा उपचार खर्च जुटाउन नसक्नु थियो। आर्थिक अभावका कारण उपचार रोकिएको उनको जीवनमा मोड आयो, जब उनी नबिलको ‘बर्न सर्जिकल क्याम्प’ मा पुगे।
सुष्मा कोइराला मेमोरियल अस्पतालमा गरिएको शल्यक्रियापछि अहिले उनको हात चल्न थालेको छ।
“पहिलेजस्तो काम गर्न नसके पनि अब परिवार पाल्न सक्ने आशा जागेको छ,” भरत भन्छन्।
बैंकका अनुसार गत आर्थिक वर्षमा ४९४ जना जलनका बिरामीले विशेषज्ञ स्वास्थ्य सेवा पाएका थिए। तीमध्ये १३० जनाको शल्यक्रिया गरिएको थियो भने ३७ जनालाई थप उपचारका लागि रिफर गरिएको थियो।
विद्यालयदेखि वित्तीय साक्षरतासम्म
नबिल बैंकले वित्तीय पहुँचसँगै वित्तीय ज्ञान आवश्यक रहेको भन्दै सातै प्रदेशमा वित्तीय साक्षरता अभियान सञ्चालन गरिरहेको जनाएको छ। बैंकका अनुसार ३५ हजार ४०० भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष प्रशिक्षण दिइएको छ भने रेडियो कार्यक्रममार्फत करिब ४१ लाख श्रोतासम्म वित्तीय सचेतना पुर्याइएको छ।
यसका अतिरिक्त छात्रवृत्ति, पुस्तकालय स्थापना, ब्रेल शैक्षिक सामग्री वितरण, स्वास्थ्य शिविर, रक्तदान, कृत्रिम अङ्ग सहयोग, मोतियाबिन्दु शल्यक्रिया, महिला सशक्तीकरण तथा सीप विकासका कार्यक्रम पनि सञ्चालन गरिएका छन्।
वातावरण र विपद्मा पनि सक्रिय
वातावरण संरक्षणका क्षेत्रमा सात हजारभन्दा बढी बिरुवा रोपिएको, नेपाली सेनासँगको सहकार्यमा हिमाल सफाइ अभियान सञ्चालन गरिएको तथा बागमती करिडोर संरक्षणमा योगदान दिइएको बैंकले जनाएको छ।
भूकम्प, बाढी र कोरोना महामारीका समयमा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग, अक्सिजन प्लान्ट स्थापना, अस्थायी आवास निर्माण तथा राहत सामग्री वितरणमा पनि बैंकले सहयोग गरेको जनाएको छ।
बैंकिङभन्दा बाहिरको अभ्यास
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीका अनुसार बैंकले ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणाअनुसार संस्थागत सामाजिक उत्तरदायित्वलाई केवल सहयोग वितरणका रूपमा नभई दीर्घकालीन सामाजिक लगानीका रूपमा अघि बढाएको छ।
उनका अनुसार जलन उपचारदेखि विद्यालयमा स्वच्छ खानेपानी, महिनावारी स्वास्थ्य, युवा उद्यमशीलता र वित्तीय साक्षरतासम्मका कार्यक्रम समुदायको आवश्यकता पहिचान गरेर सञ्चालन गरिएका हुन्।
सीएसआरको प्रभाव खर्च गरिएको रकमले मात्र मापन गर्न सकिँदैन। विद्यालयमा पुगेको सुरक्षित खानेपानी, उपचारपछि सामान्य जीवनमा फर्किएका बिरामी, उद्यम सुरु गरेका युवा र वित्तीय ज्ञान प्राप्त गरेका नागरिकजस्ता उदाहरणहरूले सामाजिक उत्तरदायित्वको वास्तविक अर्थ देखाउँछन्।
यही कारण नबिल बैंकले सञ्चालन गरेका कार्यक्रमहरू बैंकिङ सेवाभन्दा बाहिर समुदायसँगको दीर्घकालीन साझेदारीका रूपमा स्थापित हुने प्रयासका रूपमा पनि हेरिएका छन्।





















प्रतिक्रिया