काठमाडौं । बालमन्दिरमा भएको ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर भएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयले संगठनका तत्कालीन पदाधिकारी तथा कर्मचारीहरूले अनाथ बालबालिकाको हितमा प्रयोग हुनुपर्ने रकम र सम्पत्ति हिनामिना गरेको भन्दै अभियोगपत्र दर्ता गरेको हो । सीआईबीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौँ जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर भएको हो ।
नेपाल बाल संगठन काठमाडौंका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख ५४ वर्षीया आशा श्रेष्ठ, संगठनका तत्कालीन सचिव ५१ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ, तत्कालीन सभापति ६२ वर्षीय ओमकृष्ण कर्माचार्य, तत्कालीन सभापति युरी कुमारी राई विरुद्ध मुद्दा दायर भएको हो । यसैगरी तत्कालीन कोषाध्यक्ष ७४ वर्षीय दीपकदास श्रेष्ठ, तत्कालीन कोषाध्यक्ष ६० वर्षीय प्रयागराज श्रेष्ठ, तत्कालीन सभापति ६३ वर्षीय भगवान शाक्य र तत्कालीन सल्लाहकार ५६ वर्षीय रामकृष्ण चित्रकारविरुद्ध पनि मुद्दा दायर भएको छ ।
प्रतिवादी बनाइएका ८ जना मध्ये आशा श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ र ओमकृष्ण कर्माचार्य मात्रै पक्राउ गरेका छन् । बाँकी पाँच जनालाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।
यस प्रकरणमा मुख्य भूमिका देखिएकी संगठनकी तत्कालीन केन्द्रीय अध्यक्ष रिता सिंह वैद्यको भने मृत्यु भइसकेकाले उनलाई प्रतिवादी बनाइएको छैन । उच्च स्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र प्रहरी अनुसन्धानका आधारमा मुद्दा दर्ता गरेको हो ।
सीआइबीको अनुसन्धान प्रतिवेदनअनुसार तत्कालीन अध्यक्ष रिता सिंहले नक्सालस्थित बाल मन्दिरको २९ रोपनी जग्गा बिना कुनै सार्वजनिक सूचना र प्रतिस्पर्धा मनोजकुमार मिश्रलाई भाडामा दिने सम्झौता गरी ७५ लाख रुपैयाँ नगदै बुझेको भेटिएको छ । साथै बालबालिकाको हितमा खर्च हुनुपर्ने कोषबाट अभियुक्तहरूले आफ्नो उपचार, परिवारको किरिया खर्च र व्यक्तिगत सवारी साधन खरिदमा रकम प्रयोग गरेको पाइएको छ ।
गाडी खरिद घोटालामा राजेन्द्रकुमार श्रेष्ठले आफ्नो नाममा गाडी किनेर त्यसको किस्ता बाल मन्दिरको कोषबाट तिरेको र सो गाडी तत्कालीन सभापति भगवान शाक्यले व्यक्तिगत रूपमा प्रयोग गरेको भेटिएको छ ।





















प्रतिक्रिया