काठमाडौं। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा पहिरोका कारण केही समय सडक अवरुद्ध भए पनि अधिकांश राजमार्ग छोटो समयमै सञ्चालनमा आएका छन्। यस वर्ष वर्षातका कारण सवारी आवागमन प्रभावित भए पनि हालसम्म ठूलो धनजनको क्षति भने नभएको सरकारी अधिकारीहरूको भनाइ छ।
पृथ्वी राजमार्ग, बीपी राजमार्ग, नारायणघाट आसपासका क्षेत्र तथा अन्य केही स्थानमा स–साना पहिरो खस्दा केही घण्टाका लागि यातायात प्रभावित भएको थियो। सम्बन्धित निकायले तत्काल सडक खुलाउने काम गरेपछि अधिकांश मार्ग पुनः सञ्चालनमा आएका छन्।
मनसुनजन्य क्षतिपछि सडकको अवस्थाबारे प्रत्यक्ष अनुगमन गर्न पूर्वाधार विकास मन्त्रालयले देशव्यापी निरीक्षणलाई तीव्र बनाएको छ। मन्त्रालयका अनुसार पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, मन्त्रालयका सचिव गोपाल सिग्देल, सडक विभागका महानिर्देशक विजय जैशी, डिभिजन प्रमुख तथा आयोजना प्रमुखहरूको टोलीले विभिन्न राजमार्ग र सडक आयोजनाको स्थलगत निरीक्षण गरिरहेको छ।
मन्त्रालयका अधिकारीहरूले क्षति भएका सडकको तत्काल मर्मत गरी यातायात नियमित सञ्चालनमा ल्याउन सम्बन्धित कार्यालयलाई निर्देशन दिएका छन्। त्यसअनुसार विभिन्न डिभिजन सडक कार्यालयले पहिरो पन्छाउने, सडक मर्मत गर्ने र जोखिमयुक्त स्थानमा निगरानी बढाउने कामलाई प्राथमिकतामा राखेका छन्।
मन्त्री लम्सालले गत सातामात्रै पूर्वी नेपालका विभिन्न जिल्लाको अनुगमन गरेका थिए। त्यसपछि उनी सुर्खेत पुगेका थिए भने मन्त्रालयको टोलीले कर्णाली प्रदेशका सडक आयोजना तथा मुगुसहितका जिल्लामा पुगेर सडक कार्यालयको निरीक्षण गरेको जनाएको छ।
यस्तै, अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–लामोसाँघु–सिन्धुपाल्चोक–मुडे–चरिकोट हुँदै जिरीसम्मका केही स्थानमा अवरुद्ध सडक पनि सम्बन्धित डिभिजन सडक कार्यालयको पहलमा सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ।
मनसुनका कारण सडक अवरुद्ध हुने जोखिम अझै कायम रहेकाले मन्त्रालयले देशभरका सडक कार्यालय र आयोजना कार्यालयलाई उच्च सतर्कतामा रहन तथा अवरोध भए तत्काल सडक सञ्चालनमा ल्याउन निर्देशन दिएको छ। वर्षायामभर आवश्यक उपकरण, जनशक्ति र आपत्कालीन तयारी अवस्थामा राख्न पनि सम्बन्धित निकायलाई आग्रह गरिएको मन्त्रालयले जनाएको छ।




















प्रतिक्रिया