काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागि परेको स्पष्ट पारेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग आज भएको छलफलमा प्रधानमन्त्री शाहले सो कुरा बताएका हुन् ।
उनले राज्य संयन्त्रका सम्पूर्ण अङ्गहरू उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन र संयमता अपनाउन आग्रह गरे । प्रधानमन्त्री शाहले सरकारको प्राथमिक ध्यान प्रभावित नागरिकसम्म पुग्नु, उनीहरूलाई सुरक्षाको प्रत्याभूति गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नुमा रहेको बताए ।
शान्ति–सुरक्षालाई चुस्त–दुरुस्त राख्न र परिस्थितिलाई थप बिग्रन नदिन सरकारले बहुपक्षीय रणनीति अपनाएको प्रधानमन्त्री शाहले बताए । छलफलका क्रममा प्रधानमन्त्री शाहले सबै सांसदहरूलाई आआफ्ना निर्वाचन क्षेत्रमा आत्मविश्वासका साथ पुगेर नागरिक र राज्यबीच सद्भावको बलियो पुल बन्न आह्वान गरे ।
प्रधानमन्त्री शाहले अप्ठ्यारो र आपत्कालीन परिस्थितिमा जनताको घरदैलोमा पुगेर उनीहरूको दु:ख–सुखमा उभिनु नै सांदहरुको वास्तविक दायित्व भएको स्मरण गराए ।
सांसदहरूले पनि प्रधानमन्त्री शाहको अनुरोधलाई सकरात्मक रूपमा लिँदै आफूहरू तत्कालै आआफ्ना निर्वाचन क्षेत्रमा खटिने प्रतिबद्धता जनाए ।
बिहीबार प्रधानमन्त्री शाहले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनले देशैभर र विशेष गरी प्रभावित क्षेत्रका नागरिकमा सकारात्मक सन्देश, विश्वास र भरोसा जगाएको समेत उल्लेख गरे ।
स्थानीय स्तरमा दीर्घकालीन शान्ति र भ्रातृत्व कायम राख्नका लागि दुवै पक्षका धार्मिक गुरुहरू, नागरिक समाज, बुद्धिजीवी र स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूसँग सघन संवादको श्रृंखलालाई निरन्तरता दिनुपर्ने सुझाव सांसदहरूले प्रस्तुत गरेका थिए ।




















प्रतिक्रिया