Logo

प्रमुख समाचार

भेनेजुएला प्रकरणले नेकपामा चर्कंदै दाहाल- ओलीबीच जुहारी



भेनेजुएलाको आन्तरिक राजनीतिमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुुष्पकमल दाहालले कडा आलोचनासहितको वक्तव्य जारी गरेपछि त्यसलाई लिएर पार्टीमा मतभेद उत्पन्न भएको छ। भेनेजुएला प्रकरणमा नेकपाका दुई अध्यक्ष दाहाल र केपी शर्मा ओलीबीच दोहोरी चलिरहेको छ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले बुधबार ‘जनतासँग प्रधानमन्त्री’ नामक टेलिभिजन कार्यक्रममा दाहालको वक्तव्यलाई ‘टङ स्लिप’ को रुपमा अथ्र्याएका थिए। त्यसको प्रतिक्रियास्वरुप अध्यक्ष दाहालले बिहीबार चितवनमा सञ्चारकर्मीसँग ‘भेनेजुएला प्रकरणमा आफूले जारी गरेको वक्तव्यलाई पार्टी सचिवालयले आधिकारिक भनिसकेको अवस्थामा एउटा व्यक्तिले के भन्छ भन्ने कुराको अर्थ नहुने’ बताएका थिए। एउटा व्यक्ति भनेर दाहालले प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष ओलीलाई संकेत गरेका हुन्। ‘जनतासँग प्रधानमन्त्री’ टेलिभिजन कार्यक्रममा ओलीले दाहाललाई अर्का अध्यक्ष नभनी ‘एकजना साथीले वक्तव्य दिनुभयो, त्यो आवश्यकता थिएन’ भनेका थिए।

दुई अध्यक्षको जुहारी चलिरहेकै बेला दाहालले शुक्रबार काठमाडौंमा एक पुस्तक विमोचन कार्यक्रममा सरकारको चर्काे आलोचना गरेका छन्। उनले आफ्नै पार्टी नेतृत्वको सरकारको कार्यशैलीको आलोचना गर्दै ‘हिँजो लडाइँमा सहभागी हुने, आन्दोलनमा सहभागी हुने र शान्तिप्रक्रियामा खुसियाली मनाउने प्रत्येकले एकचोटी निधार खुम्च्याएर सोच्नुपर्ने’ बेला आएको बताए। ‘सुशासन र समृद्धिका निम्ति शान्ति सम्झौता र संविधानमा उल्लेख गरिएका विषयको इमानदार कार्यान्वयन सबैको ऐतिहासिक जिम्मेवारी हो। यदि यसलाई हल्लाफुल्का रुपले लिइएको छ भने अब देशलाई धेरै गाह्रो पर्न सक्छ,’ दाहालले भने।

दाहालले संविधानलाई आत्मसात् गरेर ऐन बनाउने र ऐनलाई इमानदारी साथ कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्ने बताए। उनले उपेक्षित र विभेदमा पारिएका सबैलाई सन्तुष्टि र उनीहरुलाई यो देशको मालिक बनियो भन्ने अनुभूति दिलाउने विषयलाई हल्का रुपमा लिए त्यसले दुर्भाग्य निम्त्याउने चेतावनी पनि दिए। ‘विस्तारै, विस्तारै माओवादीलाई सिध्याइहालियो भन्ने कसैले ठानेको छ भने अर्काे माओवादी जन्मिन्छ र झन् ठूलो लडाइँ हुने खतरा आउँछ,’ दाहालले भने।

दाहालले फेरि मधेसमा एक ढंगले र पहाडमा अर्काे ढंगले विकराल स्थिति उत्पन्न हुन सक्ने भन्दै हिजोजस्तै सजिलै १२ बुँदै र शान्ति सम्झौतामा हस्ताक्षर तथा सजिलै शान्तिपूर्ण माध्यमबाट युगान्तकारी परिवर्तनतर्फ लैजाने अवस्था नआउन सक्ने बताए। नागरिक दैनिकमा खबर छ।

प्रकाशित मिति : माघ २६, २०७५ शनिबार  ६ : ०८ बजे