प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी ओली लोभी र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कायर भएको आरोप लगाएका छन्।नेकपा एमाले र एनेकपा माओवादीबीच पार्टी एकता हुनुमा सिद्धान्तको जगभन्दा लोभी र कायरको मिलन भएको थापाले आरोप लगाए।
‘घ्यु बेचुवा र तरबार बेचुवाबीचको रातारात मिलन नै नेकपा हो,’ नेपाली कांग्रेस गोरखाले शनिबार आयोजना गरेको कार्यक्रममा नेता थापाले भने, ‘लामो छलफल भएर पार्टी मिलेको होइन।’थापाले ओली नेतृत्वको सरकारको मन्त्रिमण्डल भष्ट्रहरूको क्लब भएको आरोप लगाए।सरकारले दायाँबायाँ भ्रष्टाचारी राखेको उनको भनाइ छ।
‘भ्रष्टाचार, आर्थिक अवस्था, सुशासन बिग्रदै गयो, नेपाल डुब्न लाग्यो,’ उनले भने, ‘प्रधानमन्त्री सुशासनको कुरा गरेर नथाक्ने अनि भ्रष्टाचारीलाई दायाँबायाँ राख्ने ?’
बाइड बडी जहाज खरिद तथा बूढीगण्डकी जलविद्युत आयोजनाजस्ता दर्जनौं ठूला योजनामा भ्रष्टाचार भएको उनको भनाइ छ।रेल, पानी जहाज, हावाबाट बिजुली, पाइपलाइनबाट ग्यास आउनु राम्रो भए पनि अहिले देशको ढुकुटीले नधान्ने थापाले बताए।सरकारले दुई तिहाइको दुरूपयोग गरेको उनले बताए।
‘एउटा मेडिकल कलेज खोल्न दुई तिहाइ प्रयोग गर्ने, यस्तो नि कम्युनिष्ट पार्टी हुन्छ?,’ थापाले भने, ‘गएको एक वर्षमा कुनै पनि क्षेत्र राम्रो भएन। विदेश गएका युवाले पठाएको रेमिट्यान्सले धानेको देश कुनै पनि बेला ढल्छ।’
सरकारको रवैयाका कारण लगानी सम्मेलन फलदायी नहुने उनको भनाइ छ।सरकारले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्न अपराधीलाई पक्राउ गर्न नसकेकोमा थापाले सरकारको आलोचना गरे।
प्रतिक्रिया