सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद उत्कर्षमा पुगेको छ । पार्टीकै जिम्मेवार नेताहरुले समेत अध्यक्षद्धयलाई संयमित बन्न सुझाएका छन् ।
पछिल्लो समय पार्टी एकता तल्लो तहसम्म नटुँग्याएको भन्दै नेतृत्वसँग रुष्ट बनेका भीम रावलले पनि अध्यक्षद्धयलाई संयमित बन्न सुझाउँदै धमकेदार ट्विट गरेका छन् ।
उनले ट्विटमा भनेका छन्,”विगतमा कुनै देश र सरकार विशेषबारे सार्वजनिक रूपमा धेरै विवाद गर्दा कम्युनिष्ट पार्टीमा विभाजन समेत आएको स्मरण गर्दै संयमित भएर विधि र बैठकबाट विवाद टुंग्याउनु र पार्टी एकीकरणको काम अविलम्व पूरा गर्नु बुध्दिमानी कार्य ठहरिने छ ।”
भेनेजुएलामा जारी राजनीतिक संकटलाई लिएर अध्यक्ष प्रचण्डले अमेरिकाले हस्तक्षेप गरेको भन्दै कडा निन्दा गरेपछि ओली र प्रचण्डबीचको सम्बन्ध बिग्रिएको अनुमान गरिएको छ । तर, पछिल्लो समय ओलीले आफू नेपालमा भएको भए त्यस्तो वक्तव्य आउने थिएन भन्ने अभिव्यक्ति दिएपछि प्रचण्ड बिच्किएका छन् ।
उनले पनि पार्टीले एकमतले अमेरिकी हस्तक्षेपको निन्दा गरेकोले अब व्यक्तिको भनाईको कुनै अर्थ नहुने भन्दै ओलीलाई कडा जवाफ दिए । हिजो शुक्रबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा पनि प्रचण्डले कसैले माओवादीलाई सिध्याई हालियो भनेर ठानेको छ भने त्यो दुर्भाग्य हुने र अर्को माओवादी जन्मिन सक्ने चेतावनी दिएका थिए ।
प्रचण्डको यस्तो चेतावनी आएपछि ओली र प्रचण्डबीच सम्बन्ध सुमधुर नभएको अनुमान लगाउन थालिएको छ । यसको असर पार्टीको तल्लो तहसम्मको एकता टुँगो लगाउन सकस भएको छ । यही सन्दर्भमा रावलले संयमित नबने पार्टी फुट्न सक्ने संकेत गरेका छन् ।
प्रतिक्रिया